एक साझ बर्खेभेलले
घरखेत बगाएपछि,
रोटी र कपडाको संघर्ष,
इट्टा भट्टाको तापसँग साटेकी थे ।
पाहोर साल निदाएकै बेला
श्रीमानले आँखा चिम्ले
यो बालकले आँखा उघार्यो त्यहि साल ।
लकडाउन भन्दै साहुले ज्याला नदिएको पनि धेरै भयो ।
ज्यालाको अन्नले कति दिन पुग्थ्यो।
आफ्नै गाउँ पुग्नु छ,
त्यसैले आज फेरि सुरु गरेकी छु
बाच्नकै लागि यात्रा
लामो र कठिन यात्रा,
साथको दुधेबालक चिच्याउँछ
र दुधेबालकसँगै
भोको पेट चिच्याउँछ ।
उता बाका गोडा पाउरोटी जस्तै फुलेका छन् ।
र गोडाभन्दा ज्यादा फुलेको छ ।
उनको मन।
भरिएका आँखा र खाली पेट
बोल्नु भएको छैन ।
सायद सक्नु भएको छैन ।
दुईछाक पुग्ने मानो
र, ओत लाग्ने छानो पाएको भए ।
इट्टा भट्टाको रापले पोलेका गोडा
अझ फेरि
जो राजमार्गमा पोल्न मन थिएन ।
अब
केहि गुनासो छैन
तँसङ्ग, ए सरकार
बस् एक बिन्ती सुनिदे,
कि त घर पुर्याइदे,
कि त खानादे
नत्र यसै मर्नु छ उसै मर्नु छ।
बरु बाचिएला कि
भनेर सुरु गरेकी हुँ,
यो राजमार्गको यात्रा ।।
-Bikram Singh Dhami

