साँझको समय,
पशुपति मन्दिर शान्त थियो, तर मन भित्रभित्रै उथलपुथल।
म ढुङ्गाको छेउमा बसिरहेको,
जहाँ पहिले तिमी बसेकी थियौ — मेरा नजिक।
घण्टीको आवाजले आकाश फाटेजस्तो लाग्यो,
आरती चलिरहेको थियो,
मानिसहरू नाचिरहेका थिए,
तर म भने आफ्नै आँसुमा डुबिरहेको थिएँ।
मेरो नजर चितातिर गएको थियो —
त्यो धुवाँ… त्यो आगो…
जुनले कसैको जीवन अन्त्य गरिरहेको थियो,
ठ्याक्कै जस्तै तिमीले मेरो माया अन्त्य गरेझैँ।
तिमीले भनेकी थियौ:
“हामी सँगै बाँच्नेछौँ, म मरे पनि तिमी मसँगै हुनेछौ।”
तर आज, तिमी सात समुन्द्र पार छ्यौ —
र म? म यहाँ छु — तिमी बिना जिउँदो लास भएर।
तिमी सँग बिताएका ती पलहरू,
अब चिसो सम्झनाजस्तै छ —
न त तातो, न त मेटिने।
बस, एउटा बोझ… जुन बोक्दै छु म, मलामी भन्दा भारी।
म आफैँलाई सोध्छु —
के म तिमीलाई श्राद्ध गरूँ?
तर म त अझै माया गर्छु,
र माया गर्नेले कहिल्यै चिता जलाउँदैन।
सामुन्द्र पारी गएर तिमीले नयाँ जिन्दगी सुरु गर्यौ,
यहाँ, म भने तिमीलाई बिर्सन नसकेर,
पशुपतिमा धूपको वासना र चिताको धुवाँ सुँघ्दै
प्रेमको मृत्यु हेर्दै छु — दिनहुँ।
-Sulav Pandey
Read More From Adriano Dinu Thapa:
Read more:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

