Nepali Poem by Shasank Sekhar Neupane

shasank neupane nepali poem

एउटा कविता छ मेरो
जुन सुनाउनु छ तिमीलाई
तर आज हैन
त्यो बेला
जब मेरो सास ले पाउनेछ उसको बतास
जब मेरो ‘ खाट ‘ कहलिने छ ‘ घाट ‘
जब आगोको सिरक ओढेर
म दाउराको सिरानी लाउने छु
र त्यो कालो धुवाँको मुस्लो लाई
मेरो अन्तिम सहयात्री बनाउने छु
हो त्यही दिन तिमीलाई
म मेरो कविता सुनाउने छु

त्यो दिन तिमी एक अन्तिम पटक मेरो श्रोता बन्छौ
पहिलो पटक जस्तै ‘ आहा कति राम्रो ‘ भन्छौ?
मेरो छेउमा बसेर,

सायद एक अन्तिम पटक तिमीले म भित्रको ताप महसुस गर्नेछौँ
कुनै बेला यसको सामीप्यमा आफूलाई सेक्ने तिमी
सायद अन्तिम पटक भने सहन नसकेर पर सर्नेछौ
मेरो छेउ पोल्नेछ तिमीलाई

सायद एक अन्तिम पटक तिमी मेरो सुगन्धमा गाँसिनेछौ
कुनै बेला यो सुवासले लट्ठा पर्ने तिमी
सायद अन्तिम पटक भने धुवाँमा निसासिनेछौ
मेरो छेउ पोल्नेछ तिमीलाई

सायद एक अन्तिम पटक म गलेको दृश्य हेर्नेछौं
कुनै बेला म गल्दा आड दिने तिम्रो काँध
सायद अन्तिम पटक भने नजर फेर्नेछौँ
मेरो छेउ पोल्ने छ तिमीलाई

सायद एक अन्तिम पटक तिमी मलाई पर्खिनेछौँ
कुनै बेला चार औँसी धैर्य गर्न तिमी
सायद अन्तिम साँझमा चन्द्रमा अघि नै फर्किने छौँ
मेरो छेउ पोल्ने छ तिमीलाई

एउटा कविता छ मेरो
जुन सुनाउँनु छ तिमीलाई

 

Read More Nepali Poem by Shasank Sekhar Neupane:

Nepali Poem | आमा | Shasank Sekhar Neupane

 

Read More from Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *