कहिले उसको सुकोमल मनको सुवास खास लाग्नु
कहिले उसकै अनुदात्त आभासले निराश पार्नु
कहिले उसैको मुहारमा नजर अडिरहनु
त, कहिले त्यही मुहार, भुली जाऊँ भनी
प्रभुसँग गुहार माग्नु !
कहिले उसको प्रशंसा खुलेरै गर्नु
कहिले नीति नियम भुलेर नै उसलाई सराप्नु
कहिले उसलाई मात्र सपनामा देख्नु
त, कहिले उसलाई नै सम्झी
रातभर ननिदाउनु !
कहिले ऊसँग हुँदा चङ्गाझैँ आकाशमा उडिरहनु
कहिले चुँडिएर प्रेमको धागो भुइँमा पछारिनु
कहिले उसको अभावलाई सम्झी रुनु
त, कहिले उसको स्वभावलाई सम्झी रमाउनु !
कहिले झरी पर्दा मन्दमन्द मुस्कुराउनु
कहिले सिरेटोमा झरेका आँसु पुछी अतीतलाई भुलाउनु
कहिले चिसो हावाले छुँदा उसलाई सम्झिनु
त, कहिले प्रचण्ड गर्मीले पोल्दा उसलाई नै सम्झिनु
कहिले प्रेम
त, कहिले भ्रम !
‘भ्रम’ चलचित्रको प्रेमी नायक
म एक भ्रमित मनुवा !
-Rahul Yadav
Read More from Nepali Poem:
एक झलक जिन्दगी | Poem | Secret Thinker – Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

