गुलाबी | Nepali Poem by Pooja Regmi

Nepali Poem Offline Thinker Pooja Regmi

१. बगैंचामा फुलेका
रंगीविरंगी फूलका थुँगाहरु
बसन्तमा पलाएका नयाँ पालुवाका गुच्छाहरु
कहिले मालीभन्दा धेरै भमराको पीरमा
पुरै जीवन समर्पण गरी बेथित हुन्छन्
फेरि गोधुली शरदमा सजिएर फुल्दै बगैंचा सजाउछन्
बसन्तमा बिदा भएका भमराहरु
नयाँ उमंग खुसी र हर्ष बोकेर सुम्सुम्याउन आउने छन्
हृदयभरी सुगन्धको कस्तुरी बोकी
हजारौं रंगहरु साट्न हतारिदै
खुसीको अंकमाल गर्न आतुर हुनेछन्
अनि…
बगैंचाको गुलाबको रंग चोरी
आफैमा लोभिएर बस्ने छन्

२. त्यही रातो गुलाबको रंग चोरेर
फुलेकी थिइन् मेरी उनी पनि
हँसिलो मुहारलाई सझाउथे ती लाल परेका गालाहरु
पिपलपाते ओठहरूलाई गुलाबी रंगले सजाएर
तिखा नजरका वाँणहरुले हानी रहन्थे मलाई
र चञ्चल बनाउँथे
सपनी र विपनीमा हलचल मच्चाउथे
गुलाबको हरिया बोटहरु जस्तै
उसमा छाएका जवानीका हरियाली र
घायल नजरबाट फ्याक्थिन
उदाउँदै गरेको सूर्यले जस्तो चम्किला ऊर्जाका किरणहरू
र न्यानो उनको करुणा र ममता बोकेर
हटाउथे हर कोहिले आफ्ना विकिरणहरु
चोरेकी थिइन् उनले कयौंका निर्दयी मुटुहरु
र लोभी बनाउथिन् वैसालु भमराहरुलाई
र छरीरहन्थिन् बैँसको सुगन्धमा
पीपलका छायाले जस्तै सितल भावनाहरू

र….
सापटी दिएकी थिइन् गुलाबी रंग
दोपट्टाका किनाराहरुलाई
छापिदिन्थिन् औंठा छाप भन्दा पनि गाढा
हृदयका पानाहरूमा कलेजी रंग
जुन अबिरल निरन्तर र कहिले नसुक्ने गरी
कलेजी हुँदै मुटुको पर्खालसम्म रसाइरहन्थे
अमर प्रेमका खोलाहरू बगिरहन्थे
जहाँ किनारमा भेटिन्थे
हर प्रेमिका जगौंजुग बाँचिरहने इतिहास
हर ढुङ्गामा लेखिन्थे
दुःख र रोदनसँगै हाँसिरहने लाल जोडीका नामहरू
र शरदको आगमन सँगै
मनाइन्थ्यो प्रेमका उत्सवहरु
जहाँ रातो दोपट्टा चुरा, पोते र गुनियोहरुले
चोरीदिन्थे गुलाबका रंगहरु
सजाउथे प्रेमिकाका लालचुनरीहरु
र जन्माउथे आफ्नो गर्भमा
अमर प्रेम कहानी !!!

 

Read More from Nepali Poem:

एक झलक जिन्दगी | Poem | Secret Thinker – Offline Thinker

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *