खुल्ला किताबका पानाहरु हुँ म ,
पर लैजाउ शंकाका शुत्रहरु, जासुसीका सिद्धान्तहरु,
जति गहिरिएर अध्ययन गरेपनि, नतिजा आखिर शून्य नै प्राप्त होला,
किनकी यो खुल्ला किताब बन्द डायरीमा लुकाईएका भयानक इतिहासका कथा होइनन् |
प्रभावमा नभई स्वभावमा तर्कहरु सुझ्छन्,
दाँज्नेहरु दाँज्दा दाँज्दै अल्मलिन्छन्, विश्वास गर्नेहरु ढुक्क भइ बस्छन्,
सबैलाई सुझाउदै अनि बुझाउदै हिंड्न,
यी पुस्तकका पानाभित्रका अक्षरहरु, गणितका साध्य अनि विज्ञानका तथ्यहरु होइनन् |
एक दुई पाना पल्टाई पुरै पुस्तक पढेझैं गर्ने मूर्ख विद्वानहरु,
आलु चपाई पेडाको धाक दिई बक्सिनेहरु,
बुझ्न इच्छा भए प्रश्न सहितका जिज्ञासा गर्नुस्,अफवाहका खेती हैन,
राम्रोसँग जान्नको लागि दिगो संगत जरुरत पर्दछ, केहि दिनका बोलीचालीका भेटि होइनन्,
किनकी गुणका पहाडमा चट्टानरुपी अवगुणीहरु पनि विरासित हुन्छन्,
यी पानाका उक्तिहरु व्याकरणका शुद्ध हरफ होइनन् |
दिमागका शब्दभण्डार होइन, बुझ्नको लागि स्वच्छ मनका शब्दभाव काफी छन्,
सँधै पत्थरका वाण हिर्काइ बक्सिनु होला, स्वीकार्न यी अस्थिर मन राजी छन्,
तर चेतना सदा भया तिनमा कि, तिनका उपन्यास सामुन्ने अझै पनि यी पुस्तकका बितेका अध्यायका केहि शब्द नै हाबी छन्,
किनकी यी अध्यायहरु, असल-खराब छुट्याउने सामाजिक शिक्षा अनि नैतिकताका अनुयायी होइनन् ||
-Anupam Joshi
Read More Similar Stories and Nepali Poem:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

