ती आखिरी पलहरू | कथा | सुस्मिता फुयाल

सायद अब उसँग जीवनका केहि पलहरू मात्र थिए होलान् । मृत्युसँग जुधिरहे पनि कति शान्त, सौम्य अनि धैर्य झल्किएको थियो उसको आभामण्डलमा ।

न त कुनै गुनासोका सुस्केराहरू थिए, न त ३०औं वसन्तको वारपारमा जीवनबाट बिदा लिनुपरेकोमा पीडा नै थिए । उसको अनुहार देख्दा लाग्छ मानौं ईश्वरै उत्रेर आएका छन् । उसलाई मृत्यु देखि डर कत्ती पनि थिएन । उ सबै झेल्न तयार थियो । मृत्युसँगको सहयात्रा सुरू हुनै लाग्दा जीवनसँगको विछोडमा एक अहोभाव झल्किरहेको थियो उभित्र । मानौं उसले जीवन पूरा समेटेर बाँचेको छ । मानौँ उसले आफ्नो जिन्दगीको कथा पूरा गरेको छ जहाँ अधुरो केहि छैन।

सुमन भन्दा बेग्लै उता नित्या थिइन जसलाई यो समयदेखि डर लागिरहेको थियो । नित्या जसले आफ्नो सुमनलाई केबल भिडियो च्याटको माध्यमबाट हेरिरहेकी थिइन्, उनका लागि यो समय सहज कदापी थिएन । ती क्षणहरु सहज हुन् पनि कसरी ?

उनको सुमन देशका ती वरिष्ठ चिकित्सकहरुमध्ये एक थिए जसलाई कोरोनाले आक्रान्त बनाएको थियो । महिना दिन भइसकेको थियो एक अर्काबाट छुट्टिएको । नित्या सम्झिन्छिन् ती पलहरु जब सुमन दिनरात नभनी महिनौँ उनीबाट बिछोडिएर कोरोनाका बिरामीको उपचारमा कार्यरत भएको । नेपाल जस्तो देशमा जहाँ पीपीइ किट, मास्क जस्ता कुनै सुरक्षाको व्यवस्था थिएन, त्यस्तो समयमा पनि विना कुनै डर सुमनले आफूलाई बिरामीको उपचारमा होमेका थिए ।

नित्या बेलाबेलामा यता सुमनले गरेको काम सम्झिन्छिन् अनि फेरि मनमनै केहि सोच्न थाल्छिन्–‘सायद सरकारका कदम केहि दरिला भएको भए ? पीपीइ किटको व्यवस्था भएको भए ? उनको सुमन यति छिटै उनलाई छोडेर जाने अवस्थामा हुने थिएन होला। सायद यो समय झेल्नुपर्ने नै थिएन होला। दु:खी त उनी तब भइन जब सुमनको अंश उनीभित्र बढिरहेको कुराले वर्तमानमा झटारो हान्यो । यहि कारणले जोखिम मोलेर पनि उनले सुमनलाई भेट्ने धृष्टता गर्न सकिनन्। उनी केवल आफुलाई सम्झाउँथी।आफ्नो मनलाई बुझाउँथी।

रोगले सुमनलाई समातेपछि उनलाई पनि क्वारेटाइनमा राखियो । एकान्तबासमा रहन बाध्य भएपछी सुमन र नित्याको कुरा गर्ने माध्यम भनेको भिडियो च्याट मात्र भयो । तर जब सुमनलाई कोरोनाले च्याप्दै गयो उनीहरुको कुराकानी पनि कम हुँदै गयो। शायद त्यो समयमा सुमनसँग केहि निमेष मात्र बाँकी थियो जीवनको ।

नित्या उसलाई पुनः भिडियो च्याटमा एकोहोरिएर हेरिरहेकी थिइन। केवल शून्यता झल्किएको थियो उनका आँखामा । जतिसुकै असहज भएपनि सुमन भने हाँसिरहेको थियो। सायद सुमनसँग केहि विकल्प थिएन हाँस्नु बाहेक।

‘आफ्नो अन्तिम घडिमा नित्यालाई उसले हिम्मत छोडेर जानुपर्नेछ जुन हिम्मतको भरमा उसकी नित्याले पुरा जीवन काट्नुपर्नेछ।’, सायद यहि सम्झिएर हाँसेको थियो सुमन आफ्नो नित्यासँगको अन्तिम पलमा।

शायद त्यो समय कसैको लागि पनि सहज थिएन । घन्टौं बितिसकेको थियो नित्याले सुमनलाई एकटकले नियालेको । उनी सुमनलाई पुरै आफूमा समेट्न चाहन्थी । सुमन नित्याको लागि हाँस्दै थियो तर नित्या केही बोल्न सकिरहेकी थिइन। सुमनले एक्कासी लामो लामो सास फेर्न थाल्यो ।

नित्या अत्ताल्लिएर फोनबाटै डाकटरलाई गुहार्न थाली । सुमनको सासले उसलाई साथ दिइरहेको थिएन । उसलाई सास फेर्न मुश्किल हुन थाल्यो । नर्सहरु दौडिएर आइपुगे । हात सुम्सुमाए । अक्सिजन मास्क लगाइदिए तर सायद  यान्त्रिक उपकरणले पनि साथ दिन मानेन । केही मिनेटको छटपटहाट पछि सुमनले ज्यान छोडिदियो । ऊ अब यो संसारमा रहेन । विचरी नित्या यो कुरा सपना होस भन्ने चाहन्थी तर त्यो विपना थियो, तितो सत्य थियो अनि नमिठो यथार्थ थियो ।

सुमनले छोडेर गएको पीडाले नित्यालाई बारम्बार सताइरह्यो । धेरै अघि यी जोडीले एकअर्कामा वाचा गरेका थिए । सँगै मर्न नपाए पनि साथ रहँदा हरेक क्षणहरू पुरा बाँच्ने, दिल खोलेर बाँच्ने। नित्यालाई एउटै मात्र गुनासो छ जीवनदेखि । उनले आफ्नो सुमनलाई सुम्सुम्याएर अन्तिम विदाइ दिन सकिनन् ।

सुमनले सास फेर्न नसक्दा उसको शिरमा हात राखेर कुनै किसिमको शक्ति सञ्चार गर्न पाइनन्। त्यतिमात्र होइन उसको पार्थिव शरीरमा आफुले बुनेको फूलको माला समेत चढाउन पाइनन् । नित्याले आफुले चाहे जस्तो अन्तिम विदाइ दिन सकिनन् ।

 

आज, सुमनले छोडेर गएको पनि एक महिना भइसक्यो । अनि सुमनको अंश नित्याको गर्भमा आएको सात महिना । यो समयमा उनी पूराको पूरा सुमन र उसको मायालाई समेटेर अघि बढिरहेकी छिन् । कोरोना विरुद्धको लडाइँमा अग्रणी स्थानमा रहेर सामाजिक अभियन्ता भएकी छिन् । सबैलाई सामाजिक दुरी कायम राख्नको लागि प्रोत्साहन गर्छिन् । पटक-पटक साबुन पानीले हात धुनको लागि उत्प्रेरित गर्छिन्।

साँझपख सामाजिक दायित्वका काम सकेर जब उनी क्षितिजमा आफ्नो आँखा लैजान्छिन् तब उनी सुमनले उनलाई हेरेर मुस्कुराइरहेको देख्छिन्। नित्या आफ्नो मनले सुमनलाई महसुस गर्छिन्। आफ्नो प्रेमलाई मस्तिष्कमा अङ्गाल्छिन् अनि सम्झिएर केही पलहरु पीडालाई भुलेर सुमनको यादमा मुस्कुराउँछिन्।

 

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *