मौसूफको देब्रे आँखो फुर्फुराइ रहेको छ। साता दश दिन भैसक्यो,कसो गरौँ?
राजेश्वरको आँखा यत्तिका दिनसम्म फुर्फुराउनु…म पीरले अमिल्ली सकेँ! लौ न! कसो गरौँ प्रभु!? मैले हजुरलाई बिन्ती टक्राएको यो चौथो पटक भैसक्यो। किन यस्तो मौनता? यस अघि त यस्तो भएसी तुरुन्तै राजपुरोहितहरुको बैठक बसी तु को तु स्वस्ती शान्ती गरेर अरिष्ट निवारण गरिन्थ्यो त! हजुरलाई सब थाहा छदैँ छ! तर यसपाली किन यस्तो बेवास्ता गरिबक्सेको? हजुरको पहल र आज्ञा बिना कुनै राजकार्जे हुन्न। किन मौन हजुर?
यी बिन्ती सुनिरहेका पात्र मानौँ कुनै शक्तिद्वारा स्तम्भित थिए। नरेश र अरिष्टबीच तगारो नआओस् भन्ने मनसुवाले! अरु बेला नरेशको उठ्बस्, सवारी इत्यादी सबै कार्जे हुनु अघि ग्रहगोचर नापतौल गरेर सकुन अपशकुन विचार गर्ने जिम्मेवार पात्र अहिले यसरी स्तम्भित हुनु मलाई यो घटनाक्रम पाच्य थिएन!
घटनाक्रम देखेर उहिले पाण्डवहरुलाई लाक्षागृहमा षड्यन्त्रपूर्वक अग्नीलाई जिम्मा लगाउने सुइँको पाएसी विदूरजस्ता पात्रले बचाउ गरेका कुराको सम्झना नि गरेँ, कठै यता हीःटिमा त्यस्ता पात्र कोहि भेट्टाइन तर! सबै स्तम्भित भैसकेका रछन्! “सबै”मा कोको परे? रक्षकहरु? भारदारहरु?चाप्लुसी,चाकडेहरु? लहुको साइनो लाग्नेहरु? अनि अनुज पनि? खै?
शुक्रबार,गूड फ्राइडे, प्रायजसो रमझम, जम्घट गरि मनाइने दिन! अझ दरबारमा त झन् किन नहोला रामरौस अनि जम्घट! इम्पोर्टेड शिशीबाट सोमरस चमचम चम्किने कृस्ट्लका गिलासमा पेश गरिएको अनि अरु शाही स्न्याक्स पनि! नरेश अनि महारानीको चियर्सबाट गेटटुगेदरको उद्घाटन भयो!
मदको माधूर्यता पान गरेर प्राय सबै स्वजन मन्द मन्द इन्टक्सिकेटेड भैसएका थिए! हस्सी, मजाक, ठट्टा अनि गफगाफ बास क्या रमाइलो माहोल! नरेश नि दंग परेका थिए स्वजन रमाएको देख्दा, मुसुमुसु मुस्कुराउँदै हेरिरहे सबैलाई।
त्यो माहोलबीच एकमनमा आफ्ना प्रजालाई नि सम्झन पुगे,भृकुटी खुम्च्याए,”मेरा प्यारा प्रजा नि यसरी नै रमाइहेका होलान् र? खैर! म प्रयासरत छु। सारा प्रजालाई सुखी तुल्याउन, गोरखनाथको आशिष् लागे सफल नि हुन्छु एकदिन!” यस्तै गम्दै थिए। मदको सीप नि लाउँदै थिए नरेश। अकस्मात अरिष्टले हाजिरी बजायो नरेश अनि उनका स्वजनलाई लहुस्नान गराइदियो! अति कारुणिक अनि हृदयविदारक शाही लहुस्नानको दर्शक भएँ। कठै म! केही गर्न असमर्थ थिएँ! नारायणहिटीमा एउटा विदुर किन जन्माए छु भन्दै आफैँलाई धिक्कारेँ!
त्यसपछि केके भयो यत्तिका वर्ष भए सर्वविधित भैसको, म दोहोर्याउने कष्ट गर्दिन! तर एउटा अछुतो कहानी उद्घाटन गर्छु! आर्यघाटको चितामा नरेश अमोघ निद्रामा लडेका थिए! मुखाग्नी पाएसि अग्निले नरेशको शरीर पचाउन सुरु गर्यो! सुरुमा अग्निलाई नि सारै दु:खानुभूती भयो कि त्यस्ता पात्रलाई आज मैले अकालमै पचाउनु पर्यो भनेर! तर अग्नि चाहिँ स्तम्भित थिएन कसैबाट, आफ्नो कर्तव्य छाडेन! सारा शरीर पचिसकेसी हाम्रा नेपाल नरेश प्रेत नरेशमा परिणत हुँदा भए!
प्रेत योनि पाएका उनी भोक प्यासले ग्रसित नि थिए! उता विधिवत काजकिरिया नि सुरु गरियो। ढिकुरो उठाए, लिपपोत गरे अनि प्रथम दिवसका निम्ति पिण्ड बसाल्न लागे।चन्दनका दाउरामा बलेको आगोमाथी, सुनको सानो भड्डुमा दूध राखियो त्यसमा विशेष किसिमको बासमती प्रजातिको चामल नि राखियो,अति सौगन्धित! त्यो पायस फत्किँदा किरिया कर्ता त्यो सुगन्धबाट लालायित भएर घुटुक्क थुक नि निल्दा भए,म देखिराछु!
पछि पायसबाट बाटुलो पिण्ड बटारियो अनि मलयाचली चन्दन आदिले पुजा गरेर ढिकुरो माथी पिण्ड लडाइयो! नरेशरुपि प्रेतलाई भोक तृप्ती गर्न पिण्डको बास्ना लिनु पर्ने थियो! अदृश्य रुपमा उनी त्यहाँ आए, पिण्ड नजिक गएर वास्ना लिन खोजे,तर कठै! अरुसबै अनि स्वयम् मलाई समेत सारै मीठो बास्ना आएको त्यो पिण्ड नरेशलाई डुङ्गै गनायो!
त्यहाँबाट धेरै किसिमका दुर्गन्ध आए, सुरुमा अनतर्घातको दुर्गन्ध आयो, त्यसपछी राजगद्दीका निम्ति चुहिएको र्यालको दुर्गन्ध आयो, अनि सबैभन्दा बढी म्लेच्छउपज षडयन्त्रको दुर्गन्ध आयो, अन्तिममा आफ्ना प्रजाप्रतिका अधूरा बाचा र कर्तव्य कहिल्यै पूरा नहुने हिनताबोधको गन्ध पनि आयो! ती नरेशरुपी प्रेतले त्यो दिन तृप्ती लिन सकेनन् अनि अब कहिल्यै नि लिन सक्दैन, किन? जबजब बास्ना लिन जान्छन् तिनै अघिका दुर्गन्धले गर्दा भोग गर्नै सक्दैनन्! कठै ती नरेश! अक्ष्य्य तृप्तिको आशामा सधैँ भौतारिनु पर्ने विडम्बना!
माफ पाउँ यहाँ अपरिचित “म” चाहिँ त्रीकाल साक्षी समय हुँ!
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

