सोह्रसराद लागेदेखि दशै आउन लाग्यो भनेर उमङ हुने मन
यो पाली मलाई दशै, दशै झै लागेन
कमिरोले पोतेर हजुरबुवाले घर रंगरोदन सुरु गर्दै सुरु हुने दशै
खै ढलान घर बनेर होला दशै, दशै झै लागेन
बल्ल बल्ल घर आउने छोराछोरीको पर्खाइसंगै आगमनबाट सुरु हुने दसैं
घरमा बुडा बा र आमा मात्र हुँदा दसैं, दसैं झै लागेन
चारैतिर होहल्ला सुख दुस्खका गन्थनले गाँउ नै उल्लास छर्दै
पहिलो चोटी आफ्ना नातिनातिनीले मुने(बख्रो हेर्ने हजुरबुवा भन्दै
सहरको दौड्धुप मेट्न, काका, छेउको बनमा सेउला झार्दै
बिहानै बुहारी घरको पिडी रातो माटोले लिप्दै
सुरु हुने यो दसैं
सायद उजाड स्वरबिहिन सहरले गर्दा
दसैं दसैं झै लागेन
लिङे(पिङ रोटे(पिङ खेल्न सेरा कहिले पुग्ने भन्ने हतारोमा उल्झिने मन
मामा यो पाली पनि घर नआएर होला दसैं, दसैं झै लागेन
वर्ष भरी यो दसैंमा घर फर्केलान भनेर हेर्दा हेर्दै
थाकिसकेका ती परिवारका आँखा अनि आस
यो साल पनि आउन पाउदिन भन्ने पर्देशीको शब्दले होला
दसैं, दशै झै लागेन
बालापन बितेर हो कि शहर सरेर हो
मन मरेर हो कि माया मारेर हो
सहर बिरान भएर हो कि बिरानो भएर हो
मलाई यो दसैं, दसैंं झै लागेन
मलाई यो दसैं, दसैंं झै लागेन
-Prabina Chaulagain
Read More From Subin Bhattarai: