शान्तिको दूघ पिलाएर
हीराको ताज पहिरिने मेरी आमालाई
सुनका बाला र चाँदीका टुक्रामा सजिदा
खुब सुहाउँछ
हरियो रत्न पहिरी
रातो सारीमा चारकोसे झाडीमा
गुन्द्री र राडीका माथि
सेलो र देउडामा नाच्दा
तिमीलाई खुब सुहाउँछ आमा
जब,
बर्साउँछौ खुसीका आँसु
तब खुसीले पलाउँछ पालुवा पनि
आशाका कलिला कोपिलाहरू
फक्रन खोज्छन् सपना बनी ,
कहिले नअस्ताउने चन्द्र र सूर्यलाई
साक्षी राखी जन्माउछौँ एक युगको छोरा
गर्व गर्छौं र राख्छौं गोर्खाली नाम
साहसी सन्तान जन्माएर तिमी
अमर भएकी छौ बम्हाण्डभरी
विश्वभरिकै एक सुन्दर युवती हौ आमा तिमी
जसलाई छिमेकीहरूले खुब आँखा लगाएका छन्
तिमीलाई पाउन तछाड मछाड गर्छन्
हरेक साँझ बिहान,
राख्छन् तिमीलाई
आफ्नो बनाउने प्रस्ताव
फुकेर क्रान्तिको विगुल
तिमी मुस्कुराउँछौ मुसुक्क जब
मुर्झाएका कोपिला पनि
फक्रेर नाँच्न खोज्छन्
तिम्रो अमृत पान गर्न आउँछन् बर्सेनि लाखौं छिमेकी
र भन्छन् आहा कति मिठो
तिम्रो वर्णन गर्न उनीहरूको शब्दले भ्याउँदैन
कति सुशील अनि संस्कारी छौ है तिमी
तिम्रै हातको थाङ्का हेरेर कल्पना गर्छन् आफ्नो घरको भित्ता र तिम्रो सीपको वर्णन गर्छन्
तीनपानेमा रमाउँछन्
धिमेमा मस्त हुन्छन्
तिम्रो कोकिल स्वर सुनेर मग्न मस्त हुन्छन्
उस्तै छटा उस्तै जटा तिम्रो
सांस्कृतिक धन पवित्र मन तिम्रो
असंख्य गुण अपार स्मृति
सौन्दर्य उस्तै छन् उस्तै कृति
तिमी धर्मको कुरा गर्छौ
तिमी कर्मको कुरा गर्छौ
आँटो पिठोमा रमाएर
दुःख मर्मको कुरा गर्छौ
तिम्रै निम्ति रोऊ आमा
तिम्रै निम्ति हाँसूँ
तिम्रै कोखमा जन्मिएर
युगौंयुग बाँचूँ
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

