Nepali Poem | यो असमानता किन | Priyanka Khadka

म छोरी तिमी छोरा
तिमी पनि मानव म पनि मानव
तिम्रो मन पनि उस्तै मेरो मन पनि उस्तै
तिम्रो कर्तव्य, अधिकार पनि उस्तै मेरो कर्तव्य, अधिकार पनि उस्तै
सबै समान हुँदाहुँदै हामी बीच यो असमानता किन

ए छोरा किन तिमी गर्भमा छौ भन्ने थाहा हुँदा मात्र सम्पूर्ण परिवारको मुहारमा मुस्कान छाउँछ
तिमी जन्मिदा तिम्रो जन्मउत्सवको खुसी सारा परिवार र आफन्तले मनाउँछ
त्यही म छोरी किन छोराको सट्टामा गर्भमा छु भन्दा सम्पूर्ण परिवारको खुसी मुहारमा मलिनता छाउँछ
मलाई जन्मदिनु त परै जाओस् गर्भमा छु भन्ने थाहा हुँदा मात्र पनि परिवारले आमाको गर्भ तुवाउँछ

ए छोरा परिवारले ऋण गरेर भए पनि किन तिमीलाई बोर्डिङ पठाउँछ
मलाई पनि त रहर लाग्छ तिमीसँग पढ्न तर किन मलाई लैंगिकताको आधारमा सरकारी विद्यालय पठाइन्छ
मलाई पनि त रहर लाग्छ तिमी जस्तै बाहिर साथीसँग खेल्न
तर किन मलाई केटीको काम यो भनेर घरभित्रको काम लगाइ तिमीलाई बाहिर खेल्न पठाइन्छ

ए छोरा किन तिमी चार पाँच रात बाहिर बिताउँदा तिमीलाई यो समाजले सम्मान गर्छ
त्यही म काम गरेर राति बाह्र बजे मात्र घर फर्कदा यो परिवार र समाजले मेरो इज्जतमा प्रश्न उठाउँछ
ए छोरा किन तिम्रो धेरै प्रेमीका हुँदा यो समाजमा तिम्रो सम्मानित सान
तर त्यही म छोरी भएर केटा माथि मात्र हुँदा किन मेरो अस्मितामाथि प्रश्न र अपमान

ए छोरा तिमी तीस वर्ष पुग्दा पनि परिवारलाई लाग्छ छोरा भविष्य बनाउँदै छ छैन कुनै हतार
म पनि त भर्खर बाइस पुगेर आफ्नो भविष्य कोर्दै छु किन यो समाजालाई मेरो बिवाहको हतार
ए छोरा तिमी श्रीमान हुँदा किन तिमीसँग छ मम्पूर्ण आक्रोस श्रीमतीलाई पोख्ने अधिकार
मसँग पनि त छ आक्रोस र पिडा खै कहाँ छ त मेरो बोल्ने अधिकार

म छोरी तिमी छोरा
तिमी पनि मानव म पनि मानव
तिम्रो मन पनि उस्तै मेरो मन पनि उस्तै
तिम्रो कर्तव्य, अधिकार पनि उस्तै मेरो कर्तव्य, अधिकार पनि उस्तै
सबै समान हुँदाहुँदै हामी बिच यो असमानता किन

-Priyanka Khadka

Photo by June

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *