आज चारै तिर
मृत्युको बिकुल ध्वनि
फुटेर चकनाचुर
जलेर ध्वस्त खरानी
अग्ला—अग्ला डाँडाहरूको काँधमा
सहरको समतल हत्केलाहरुमा
लामे ताँत छन् मलामीको ताँती
यस्तो पृथक् अवस्थामा
यो दसैँ मनाउने कसरी ।।१।।
टिकाको थाली र त्यो रणभूमि
उस्ता—उस्तै रङ्गमा सजिएको
बस् थाली रातो रङ्गले भरिएको
र…
त्यो रणभूमि रगतले पोतिएको ।
यो दसैँको टिका
म सजाऊ कसरी ?
जबकि सहिदहरू लडिदिएका छन्
आज रणभूमिमा
निधारै भरी गोली थापी
अनि….
मृत्युको कफन र
अनिष्टताको कात्रो लपेटी
यस्तो पृथक् अवस्थामा
यो दसैँ मनाउने कसरी ।।२।।
आमाहरूको कोख रित्तिएका छन्
बुढेसकालको सहारा खोसिएका छन्
हुर्किन नपाई ती कलिला
सपनाको मुनाहरूको हत्या भएका छन्
तिनै कलिला रगतले भिजेको माटोमा
यस पालीको दसैँमा…
जमरा छर्ने कसरी….
यस्तो पृथक् अवस्थामा यो दसैँ मनाउने कसरी ।।३।।
कुन घर सजाउने हो मैले.. कसरी
जबकि इतिहास जलेको छ
यहाँ ध्वस्त खरानी हुने गरी
कुन फूल टिपेर ईश्वर लाइ चढाऊ
जबकि कलिला कोपिलाहरु नै
मरिदिएका छन्
यहाँ विद्रोहमा सहिद बनी
कुन दियो बालेर
कुल देवतालाई बुझाऊ
जबकि मेरो घरै आज
उभिएको छ
अखण्ड ताण्डवमा
जर जराउँधो रापमा सेकी
यस्तो पृथक् अवस्थामा यो दसैँ मनाउने कसरी ।।४।।
दुर्गा—काली र पशुपतिनाथहरुको
पूजा गर्ने हो कसरी
संस्कृति र मान्यताको
पहिरन माला लगाई
फेरि भोग र
चढाउने होला बली
पराकाष्ठा संस्कृतिको नाममा
फेरि थर्किन्छ होला यो धर्ती
फेरि पड्किन्छ होला
बारुद पटेका पनि
रोकी दिनु सबै सबै यस पाली
धुवाको मुस्लो…बारुदको गन्ध…
पटेकाको आवाज…बलीको रक्तपात
छलकपट, अराजकताको कहानी
शङ्खको ध्वनि र विद्रोहको
ज्वलन्त पिडाबाट
लड्खडाउँदै उभिएकी छिन् मेरी जगत् जननी
यस्तो विडम्बना “दशा भित्रको दसैँ” मनाउने कसरी ।।५।।
Read More From Adriano Dinu Thapa:
Read more:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

