म र मेरो प्यारो जुत्ताको कथा | Ashma Acharya

जिन्दगीमा हामी थुप्रै कुराहरु सुन्छौँ, भोग्छौँ अनि त्यही किस्सा अनि कहानीहरुबाट नै सिक्छौँ । त्यसैले आज पनि आफ्नै जिन्दगीका किस्साबाट सिकेका अनि बटुलेका केही अनुभवहरुलाइ शब्द शब्दमा पोख्दै छु।

दुई वर्ष अगाडिको कुरा हो मैले एउटा जुत्ता किनेको थिएँ । त्यो जुत्ताको तारिफ नगर्ने कोहि थिएनन् । मैले मेरो त्यो जुत्ताको तारिफ नगर्ने आजसम्म कोहि पनि देखिन र भेटिन पनि । त्यो जुत्ता त्यसैले पनि खास थियो मेरो लागि । सायद त्यो जुत्ता पसलमा राखिएको अन्तिम पिस भएर होला। राम्रो लागेर किनिहाले त्यसैले पनि खास थियो त्यो ।

मुस्किल र भाग्यले पाएको कुरा झन यसै राम्रो लाग्छ। म त्यो जुत्ता केही खास पलको समयमा मात्र लगाउने गर्दथेँ। म खासै जुत्ता टल्काएर बस्ने मान्छे त थिइन तर त्यो जुत्ता चाहि कतै गएर आएपछी मलाई सफा गर्नुपर्थ्यो । मलाई टल्काउनै पर्थ्यो। अचानक मेरो बानी सुध्रिएको थियो। म आफैँ अचम्म पर्थेँ  आखिर यो जुत्ता किन यति खास छ मेरो लागि? म गहिरिएर सोच्थेँ यी कुराहरु कहिले काहिँ। म आफ्नो अरु जुत्ताहरु जुत्ता राख्ने एउटा छुट्टै र्याकमा राख्थेँ भने त्यो जुत्ता चाहिँ कोठामै राख्थेँ सबैले देख्ने गरि। मलाई लाग्थ्यो त्यो जुत्ता कोठामा राख्दा कोठाको शोभा नै बढ्छ। त्यो जुत्ता मेरो लागि अरु जुत्ताभन्दा निकै प्यारो थियो।

तर बिस्तारै जुत्ता पनि पुरानो हुँदै गयो र त्यही मेरो सबैभन्दा प्यारो जुत्ताले नै मेरो पाउमा घाउ बनाउँदै गयो। मलाई निकै दुखाउन थाल्यो तर पनि मैले कहिले लगाउन छोडिन। मलाई सहजता महसुस हुनै छोड्यो तर पनि आफ्नो मनसँग जवर्जस्ती गर्दै यो जुत्ता कस्तो राम्रो छ, घाउ देखिदैन क्यारे भन्दै त्यही जुत्ता लागाइरहेँ।

एकदिन घर सर्ने क्रममा मेरो त्यो खास जुत्ता हराएछ। मैले तीन चार हप्ता आफ्नो समय त्यही जुत्ता खोज्नमा बिताएँ। मलाई त्यही पुरानो जुत्ता चाहिन्छ भन्दै खोजिरहेँ तर अहँ भेटिन। सोचेँ- नयाँ जुत्ता त किन्नै पर्यो! त्यसैले म एकदिन बजार गएँ। मैले बजारमा त्यो भन्दा राम्रा राम्रा जुत्ताहरु भेटेँ तर किन किन किन्न मन लागेन । किनकी त्यही पुरानो जुत्ताको झझल्कोहरु मेरो मनमा बारम्बार आइरह्यो।

मेरो मनमा मात्र त्यही पुरानो जुत्ता थियो । कसैले त्यो पुरानो जुत्ता ल्याएर दियो भने म दोब्बर तेब्बर पैंसा तिर्न पनि तयार थिएँ। सबैले कराउन थालेपछी मैले धेरै नसोची नयाँ जुत्ता किनेँ। मलाई त्यो जुत्ता मनपरेको थिएन, नयाँ जुत्ता देख्नासाथ पुरानो जुत्ताको याद आउँथ्यो। तर बिस्तारै नयाँ जुत्ता लगाउन थालेँ। बिस्तारै बानी पनि बस्दै गयो । मलाई अब त्यही नयाँ जुत्ता मनपर्न थालेको थियो। यसले पुरानो जुत्ताले जस्तो घाउ कहिले बनाएन। मलाई एकदमै सजिलो महसुस हुन थाल्यो । यो जुत्ता राम्रो रैछ र मैले चिन्न नसकेको रहेछु भन्ने कुरा मलाई पछि बल्ल थाहा भयो। मैले पुरानो जुत्तालाई बिर्सिएर नयाँ जुत्तामा नै खुशी हुन सिकेँ । आफूले गुमाएको कुरामा दुःखी हुनुभन्दा पाएको कुरामा नै रम्न सिकेँ।

मैले जस्तै सबैले यो जुत्ताको कहानीबाट यो बुझ्न जरुरी छ कि जतिसुकै सम्बन्धहरु किन नगाँसियोस्, यदि त्यसले चोट पुर्याएको छ भने हामीले त्यसलाई बिर्सेर नयाँ सम्बन्धलाई अङ्गाल्न सिक्नुपर्छ । हामी हाम्रो पहिलो प्रेमसँग यति नजिक अनि जोडीएका हुन्छौं कि हामी त्यसलाई भुल्न असम्भव मान्छौँ। तर यसले हाम्रो जीवनमा आएका कोही राम्रो व्यक्ति र राम्रो सम्बन्धलाई जानि-नजानि टुक्राइरहेको हुन्छ।

हामीलाई त्यही पुरानो चाहिन्छ तर एकपटक सोच्नुहोस् अनि नयाँ सम्बन्ध गाँस्ने मौका आफैलाई दिनुहोस् । अनि बुझ्नुहुनेछ नयाँ कुराहरु पनि पुरानो चोटको ओखती बनेर आउन सक्छ। हामी बुझ्न चाहदैनौँ तर बुझ्ने कोसिस गर्नु नै सबैभन्दा राम्रो हुन्छ। सबैले आफ्नो पुरानो दुःखलाई भुलेर आफूलाई नै मौका दिएर हाँस्न निकै जरुरी हुन्छ।

-Ashma Acharya

 

Image by eloigomez_

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *