मेरा बाआमाले चुनेको मेरो ससुराली घर,
मेरा लागि त काल कोठरी,
निर्दोष म काराबास बस्नु किन?
मेरा बुडा देवता रे !
धत्, दक्षिणा जति भए नि अपुग हुने, ती ढुंगालाई
चढाउन म कलिलो फूल, टिप्नु किन?
तिनका नामलाई मिल्ने गरी, मलाई डाक्टरनी नै भनिए पनि,
नोकर्नी बनेर दुई छाक टार्न,
म मेरो सरनेम फेर्नु किन?
सात जन्मै लाउनुपर्ने त्यो फुलीले, सासै फेर्न न दिने भए,
मलाई सम्मानै गर्न नसक्नेलाई,
मैले माया प्लस जी हजुरी गर्नु किन?
पसिना सँगै बगीजाने त्यो सिंदूर,
अनि मेरो आखाले खसाल्ने आँशु,
रातै भए नि एकै हैनन् मामु,
मेरो मंगलसुत्र, मेरो बस्ता भन्दा भारी भो बाबा,
पागलखानाको सिक्कड़ी भन्दा,
कठोर त्यो पाउजु लाएर,
म कलेज कसरी पुग्नु दाई?
गर्दै नगरेको पाप, कसरी मेट्नु म?
सीता हुनुको पश्चाताप, भूमिमै गाडिएर सक्नु र?
कि दुर्गा बन्नु म?
कसलाई मार्नु? कसलाई काट्नु?
भागेर जानु कुन ठाउँ पुग्नु म?
कह्लाउनलाई भए पनि,
सबै आफ्नै त हुन्, कसलाई छोड्नु म?
”ले काट,
ले मार,
तैले बिहे गरेको होस् मेरो छोरी,
तेरो सम्पत्ति अब यो मोरी”
भनेर कसाई को म थुपारी जाने
मेरै आमा भाइदाइलाई छोडी,
म अस्ट्रेलिया तिर किन न लाग्नु?
पिलेट नै माझाउने हो भने,
मैले तेस्को मोल त लिन देउ,
दिनै पिच्छे बलात्कृत हुने नै जात हो म भने,
मलाई बेश्यालायसम्म त पुग्न देउ !
ए आमै, ए बाबै,
ए दाजु, हे भाइ,
मेरो फेरी बिहे न गरिदेउ !
-Amardeep Keshari