मध्य वर्गिय सामान्य केटी म,
आमाकी मायालु, बुवाकी प्यारी म,
एक्ली छोरी; सोझी र अथाह ज्ञानी म,
दुई चुल्ठो बाटी, दुई पाइला टेकी,
दुई तल्ले घरमा रमिरहने-
चार भित्ते पिंजडा भित्रकी चरी म ।
कोरीबाटी, तलमाथि, भान्सा-बारी चहार्ने छोरी म,
अबुझ, अबोध, अचेत र अपहेलित चेली म,
पखेटा फर्फराउदै टाढा उड्ने ठूलो सपना बोकेकी म,
समाजको कुन्ठित मनोविचारमाथि उठेर
कल्पनालाई विपना सरी स्वीकार गर्दै म,
जेल्लिएको आशालाई चुनौती दिँदै अघि सरेकी म
चार भित्ते पिंजडा भित्रकी चरी म ।
खुसी हुने रहर बोकी, साथी खोज्दै भौतारिने म,
सुख ठान्दै, कुलत रोज्दै दलदलमा दलिएकी म,
पिंजडाबाट टाढा छु तर खै कता हो कता छु म,
न आफ्नो सपनाको दुनियामा, न खुल्ला आकाश-छहारीमा,
कतै म हराएकी त छैन?
चार भित्ते पिंजडा भित्रकी चरी म
कतै समाजको पासोमा त परिन?
स्वतन्त्रताका गाथा बुन्न अघि सरेकी म,
खुसीको लोभमा बर्बाद त भइन?
उदारबादी दृष्टिकोण राखी यात्रा थालेकी म,
सपनाको सञ्जालमा मैले दुःख त रोजिन?
पिंजडा छाडी पर्देशीएकी एक्ली पैदलयात्री म,
पिंजडालाई घर र घरलाई पिंजडा त ठानिन?
कुसमाजको कु-रितिमा लत्पत्तिएर कंकाल त भइन?
चार भित्ते पिंजडा भित्रकी चरी,
कतै म हराएकी त छैन?
-Nikisha Basnet

