कतै म हराएकी त छैन? | कविता | Nikisha Basnet | काव्यकुञ्ज कविता प्रतियोगिता

Nikisha Basnet

मध्य वर्गिय सामान्य केटी म,

आमाकी मायालु, बुवाकी प्यारी म,

एक्ली छोरी; सोझी र अथाह ज्ञानी म,

दुई चुल्ठो बाटी, दुई पाइला टेकी,

दुई तल्ले घरमा रमिरहने-

चार भित्ते पिंजडा भित्रकी चरी म ।

 

कोरीबाटी, तलमाथि, भान्सा-बारी चहार्ने छोरी म,

अबुझ, अबोध, अचेत र अपहेलित चेली म,

पखेटा फर्फराउदै टाढा उड्ने ठूलो सपना बोकेकी म,

समाजको कुन्ठित मनोविचारमाथि उठेर

कल्पनालाई विपना सरी स्वीकार गर्दै म,

जेल्लिएको आशालाई चुनौती दिँदै अघि सरेकी म

चार भित्ते पिंजडा भित्रकी चरी म ।

 

खुसी हुने रहर बोकी, साथी खोज्दै भौतारिने म,

सुख ठान्दै, कुलत रोज्दै दलदलमा दलिएकी म,

पिंजडाबाट टाढा छु तर खै कता हो कता छु म,

न आफ्नो सपनाको दुनियामा, न खुल्ला आकाश-छहारीमा,

कतै म हराएकी त छैन?

 

चार भित्ते पिंजडा भित्रकी चरी म

कतै समाजको पासोमा त परिन?

स्वतन्त्रताका गाथा बुन्न अघि सरेकी म,

खुसीको लोभमा बर्बाद त भइन?

उदारबादी दृष्टिकोण राखी यात्रा थालेकी म,

सपनाको सञ्जालमा मैले दुःख त रोजिन?

पिंजडा छाडी पर्देशीएकी एक्ली पैदलयात्री म,

पिंजडालाई घर र घरलाई पिंजडा त ठानिन?

कुसमाजको कु-रितिमा लत्पत्तिएर कंकाल त भइन?

चार भित्ते पिंजडा भित्रकी चरी,

कतै म हराएकी त छैन?

-Nikisha Basnet

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *