२१ दिने युरोप भ्रमण सम्झिँदा….. | Jai Singh Chaudhary
त्रिहत्तर साल मेरो लागि वैदेशिक यात्रा गर्ने वर्ष सरह भयो।
वि.सं. २०७३ साल कार्तिक महिना, ठ्याक्कै भन्नुपर्दा तिहार मनाउन र पारिवारिक भेटघाटको लागि म र मेरी श्रीमतीको युरोप जाने अवसर जुर्यो। यो हामी दुईको पहिलो अन्तर्राष्ट्रिय भ्रमण थियो।
पहिलो गन्तव्य रोज्यौं नेदरल्याण्डस् !
हामीले नेदरल्याण्डस् पुग्नको लागि कतार एयरवेजको टिकट लियौं ।
कान्छो छोरालाई भने काठमाडौंस्थित बालाजु बस्ने मेरो भाइबुहारी कहाँ केही दिनको लागि बस्न आग्रह गर्यौं।
यसरी तिहारको झिलिमिलिमा झल्मलाउँदै हाम्रो हवाईजहाज कतारको राजधानी दोहाको अहमावाद एयरर्पोटमा ट्रान्जिटको लागि उडयो ।
यति ठूलो जेट प्लेन, अनि यति लामो यात्रा- मेरो लागि पहिलो अनुभव थियो ।
जहाज राति ल्याण्ड भयो ।
४ घण्टा लामो ट्रान्जिट भएकोले चेकजाँच पछि एयरपोर्टभित्र डुल्दै आराम पनि गर्न भ्यायौं।
काठमाडौंको एयरपोर्टको दाँजोमा यहाँको विशाल फराकिलो ठाँउभित्रको पसलहरू अनि सजावट देखेर एकदमै अनौठो लाग्यो । मस्त घुम्यौं।
विहान उज्यालो भए पछि बल्ल नेदरल्याण्डको लागि अर्को एयरबस चढ्यौं । पहिलो जेटप्लेन भन्दा यो एयरवस झनै ठूलो, झनै लामो यात्राको हुन पुग्यो।
केही घण्टाको उडानपछि नेदरल्याण्डको राजधानी एम्स्टर्डम पुग्ने बेला आकाशबाट हेर्दा कपासझै सेतो बादलको बीचबीचबाट सहर देखिदाको दृष्य अच्चम्मको थियो । विदेश कस्तो हुन्छ भनेर ड्रोन भ्यूबाट नियाल्न पाइयो।
हामीलाई एयरपोर्टमा स्वागत गर्न जेठो छोरा आएको थियो । बसाइ जर्मनी भएपनि ऊ घुमघाम गर्न र हामीलाई घुमाउन नेदरल्याण्ड आएको थियो।

एम्स्टर्डम सेन्ट्रल
एकरात एम्स्टर्डमको होटलमा बसेर म र छोरा जर्मनी तिर लाग्यो। श्रीमतीको भने एम्स्टर्डममै केही दिने तालिम भएकाले उनलाई ट्रेनिङमा छोडेर हामी दुई हिड्यौं। छिमेकी देश जर्मनीको कोलोन भन्ने सहर जान ट्रेन चढयौं ।
यो पनि मेरो लागि अर्को अनौठो यात्रा रहयो । जाडोको मौसम बाहिर अत्याधिक चिसो थियो । कोलोनमा केही दिन बसेपछि इटलीको राजधानी रोम उडयौं । त्यहाँ विश्वकै आश्चर्य मध्यको एक कोलोसियम लगायत केही ठाँउ हेर्यौं ।

रोमको कोलोसियम
ऐतिहासिक कलात्मक सुन्दर सफा सहर हेर्ने मौका पाइयो । घुम्नुपर्ने धेरै ठाँउ भएपनि हामी पोर्चुगलको राजधानी लिस्बनमा जान फेरी प्लेन चड्यौं । त्यँहा मेरो कान्छो भाइले हामीलाई लिन आएको थियो । पोर्चुगलमा समुन्द्र छेउछाउ घुम्न गयौं । विशाल समुन्द्रको छेउमा पहिलो पल्ट पाइला चाले, समुन्द्री पानी छोएँ ।
स्टार फिस त्यही देखे । निलो आकाश निलो समुन्द्रसँग मिसिएको देखेँ।

पोर्चुगलको समुन्द्रछेउ
अचम्म मान्दै तीनदिनको घुमाई पछि जेट प्लेट चढेर हामी फेरी नेदरल्याण्ड आयौं । श्रीमतीको तालिम सिधिएको थियो ।
फेरी एकरात बसेर भोलिपल्ट विहानै बसबाट बेल्जियम जान हामी तीनजना स्टेसन पुग्यौं । बस कुरुन्जेल त्यहाँ बस्दा चिसोले कठ्याङग्रिएको अहिले सम्म याद आउँछ । तर बस भित्र भने न्यानो थियो । वेल्जियममा छोराको साथीकोमा बसी राजधानी व्रसेल्समा रहेको युरोपियन युनियनको मुख्यालय लगायत रमणीय ठाँउहरु घुम्यौं ।

ब्रसेल्समा रहेको युरोपियन युनियनको भवन
दुई दिन पछी त्यहाँबाट फ्रान्सको राजधानी पेरिस जान तीनजना फेरी बस चढयौं । फराकिलो पार्क, मोनालिसाको मूर्ती रहेको लुभ्रे म्युजियम वरिपरि र नेपालको राणाकालिन पालाको जस्तै कलात्मक घरहरु र अत्यन्तै प्रख्यात विशाल आइफेल टावर घुम्यौं। आइफेल टावर चढ्ने अवसर पनि मिल्यो । माथिबाट देखिने पूरा सहरलाई नजिकैबाट नियाल्न पायौं।

फ्रान्सको सुन्दर सहर छोडेर हामी बसमा नै जर्मनीको कोलोन फर्कियौं ।
केहिदिनको घुमघाम पछि फर्किने क्रममा ट्रेन चढेर फेरी नेदरल्याण्ड फर्कियौं । त्यहाँबाट छोरालाई बाईबाई गरी पुरानै रुट कतार हुँदै २१ दिनको यात्रा पछि नेपाल काठमाडौं फर्कियौ ।
त्यो ट्रेन चढ्दाको अनुभव, प्लेनमा उड्डाको अनुभव, विदेशका सहर घुम्दा, भात नखाइ सुत्दाको अनुभव विस्तृतमा अर्को व्लगमा सुनाउने छु है।





Read More From Jai Singh Chaudhary:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

