मेरा लागि तिमी तिम्रा लागि म: ‘बाबा’ | कविता | Hari Bhakta Dhital | [Offline Thinker]

Hari Bhakta Dhital

रुदै हाँस्दै तिम्रै काखमा लेनदेन हुन्छ माया
झरी पर्दा ओत अनी गर्मीमा तिम्रै छाँया
जीवन रङ्ग्याए मैले तिम्रै हुन रँग अनी कुचो
मेरा सपना साकार पार्न आफ्ना लागि भयौ छुच्चो

ठेस लाग्दा आमै भने पनि उपचार तिमी गर्छौ
आफ्ना सन्तानका लागि ज्यानै दिन अघि सर्छौ
मरुभूमी यो जीवनमा बिरुवा हुर्काउने को छ र
हृदय नि ढुक्क भई पर्छ तिम्रै भर।

बिउ तिम्रै मलजल तिम्रै, तिम्रै हो गोडमेल
भोक तिर्खा निन्द्रा नभनी चलाऊछौ जीवनको रेल
टालेको कट्टु टालेकै कमिज जान्या छौ आफ्ना रहर मार्न
मीठो मसिनो जोहो गरी हामीलाई खुशी पार्न।

हाम्रा चाहनाका डोको भर्न विदेश झरेनौ कि
समाज परिवर्तनका लागि अघि सरेनौ कि
आमासँगै हातेमालो परिवारमा विश्वासको महल
यसै गरी चाख्न पाइयोस् तिम्रो परिश्रमी पहल।

तिम्रै हात समाइ समाइ कैयौँ खोला तरे
मन आकुल व्याकुल हुँदा तिम्रै छेउमा सरे
जिन्दगीका निर्णयमा तिमीले साथ दियौ
गलत कर्म गर्ला भनी लिनु पिर लियौ ।

मेरो एउटा चाहना छ तिमी जस्तै बन्ने
आफ्नालागि तिम्रा लागि बाँझो खेत खन्ने
उपायहरु खोज्दै छु म तिम्रो मुहारमा मुस्कान भर्न
ठूलो रहर छ जीवनमा तिम्रै काखमा बसी मर्न।

मेरो उमेर तिमीलाई सरोस हामीसँगै बाँचम्ला है
रहर छैन बाँच्न मलाई तिमीबाट अलग भै
खुशी राख्न आज अनी खुशी हुन भोली
साँझ बिहान सुन्नै पर्छ बाबा तिम्रो बोली।

तिम्रो जीवन मेरा लागि बाबा आज पनि
तिम्रो जीवन हाम्रा लागि बाबा भोली पनि
तिम्रो मुहार हेरेर नै मिल्छ मलाई हर्ष
यसरी नै बिती रहुन आउने सबै वर्ष।

तिमीले सरी पुरा गर्न सकुँ म तिम्रा चाहना
तिमीलाई पिर मर्का पार्ने नभेटियोस् बाहना
तिम्रा लागि तिमीले जति गर्छु म सामना
दिलै देखि मन मुटु देखि बुवाको मुख हेर्ने दिनको छ शुभकामना।

 

 

You May Also Like:

You who made me who I am | Written by Shreeansha Bhattarai | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *