धेरै वर्षको अन्तराल पछि म त्यस्तो व्यक्तिलाई भेट्न जादैँ थिए जो मेरा लागि एकदम अपरिचित थियो । केहि दिन अघि मात्र उसको नाम र त्यो सोसलमिडियामा राखेको तस्बिर मैले दिमागमा कैद गरेको थिए । मेरा लागि त उ बिल्कुलै नयाँ तर उसको लागि म नयाँ रहेनछु । केहि दिन अघि सेन्देशमार्फत बोल्दा उसले मलाई भनेको थियो कि विगत केहि वर्ष देखि हजुरलाई देख्दै र बुझ्ने कोशिस गर्दै आएको छु । आज बल्ल मौका मिल्यो हाम्रो भेट हुन!
साँझ बंगलामुखी मन्दिर परिसरमा हाम्रो भेट हुने निश्चित भयो।
घरदेखि मन्दिरसम्म पुग्दा दिमागमा एउटै कुरा घुम्दै थियो, ‘कुरा चै के गर्ने?’ कहिँ पहिलो भेट नै अन्तिम भेट्न हुने हो कि भन्ने डर पनि मनमा लाग्यो तर उसलाई देखेपछी यी अनगिन्ती सोच मानौ कतै छुट्टी मनाउन गए।
निर्धारित समय भन्दा अघि नै उपस्थित थियो ऊ । त्यो निलो ज्याकेट अनि कटनको पाइन्ट, आँखामा गोलो फ्रेमको कालो रङको चस्मा, एक साइडबाट आधुनिक शैलीमा काटिएको केश अनि त्यही केशलाई सप्पक पारेर बाधेको । अनि जिम धाएर बनाएको सुगठित शरीर,चक्लेटी ओठ र त्यो सुन्दर निर्दोष हाँसो । हेर्दै आकर्षक लाग्ने व्यक्तित्व थियो ऊ! अनि उसका हजुर भनेर गरिने सम्बोधन साच्चै तारिफ योग्य लागे मलाई!
…उसका कुरा सुन्दा लाग्यो उसले मलाई धेरै पहिलाबाटै राम्रोसँग चिन्दछ । तर अपसोच म उसलाई आजै मात्र देख्दैथे र उसको बारेमा सामान्य कुरा जान्दै थिए । मेरा लागि केहि मिनेट अघिसम्म अपरिचित लागेको त्यो मुहार अब एकाएक परिचित मुहारमा परिणत हुदैँथियो । म शिवजी प्रति अथाह आस्था राख्ने भएकाले होला हाम्रो भेट पनि शिव मन्दिर मै जुरेको । केहि छिन पछि हामी बंगलामुखी मन्दिर हुँदै शंखमुलतर्फ लम्कियौ ।
मैले पाटनमै बाल्यकाल बिताए पनि स्कुले जीवन छाडे सगैँ शंखमुलतर्फ जाने बाटोलाई पनि छाडे जस्तै भएको थियो ।वर्षौ पछि म त्यही गल्ली हिड्दै थिए । स्कुले साथीसँग नभई केहि समय पूर्व भेटेको उसँग । ऊ नजानिदो पाराले मलाई हेर्दै थियो । म भने मुहार फेरिएको शंखमुललाई हेर्दै मख्ख पर्दै थिए । हामी सामान्य कुरा गर्दै शंखमुलमा अवस्थित पार्क तर्फ लाग्यौ ।
म झन छक्क पर्दै नजिकैको वातावरण नियाल्दै थिए । कुनै समयमा शंखमुल घाटको लागि परिचित थियो तर आज त्यहीँ ठाँउमा यति सुन्दर पार्क बनिसकेको रहेछ । एकातर्फ घरबाट २0 मिनेटको दुरीमा रहेको पार्कमा पहिल्यै किन आइन भनेर म आफैसँग लज्जित हुदैँथिए । तर अर्को तर्फ उसँग आउन जुरेको रहेछ भनी चित्त बुझाउने बाटो पनि थियो । ऊ मलाई जान्न इच्छुक हुदैँ थियो भने म आफ्नै गोलगोल परेका उत्तर दिँदै व्यस्त थिए । ऊ आजित हुँदाहुँदै फेरि तिनै प्रश्न सोध्ने गर्थियो । म पुनः उसलाई दिक्क बनाउदैथिए आफ्ना उत्तरहरुले ।आफुले खोजेको उत्तर नपाएर होला ऊ बेलाबेलामा हिस्स फिक्का हाँसो हाँस्ने गर्थियो ।।…(क्रमशः)
-Poonam Ghimire
Photo by Tirachard Kumtanom

