र्कैयौँ दिनसम्म निस्सासिएको आकाश आज बल्ल खुलेर आयो
त्यो सुकेर र मर्छ भनेको बोटमा पनि रङ्गिन एक फूल फूलेर आयो
यो घरको दैलो नाघिसकेर गएको उ
मबाट टाढिएर अर्कैर्को भएको उ
फेरि यहि आँगनमा देख्छु आज म
खै के छुटेर आयो या बाटो भुलेर आयो ।
उसको एक झलकले मात्रै पनि
मनको माया फेरि कुर्लेर आयो
थाहा छैन उ फेरि के सोचेर आयो ?
अन्त ठक्कर खाएर पो आयो !
या मलाई सुम्पेको विश्वासघात
अरुबाट उसैले पो पायो
कि अरुका तिखा वचनले घोचेर पो आयो
या उसैसँग खुशी रैछु भन्ने सोचेर पो आयो
जे सोचे पनि उ आउन त आयो
हिजोसम्म मौनताले भरिएको शहरमा कसैले त मलाई बोलायो
त्यो डढेलो लागिसकेको बनमा
आशा दिलाउने गरि एक नयाँ टुसा त पलायो ।
दिनेहरु दिइरहुन मलाई उपाधी कमजोरीको
भनिरहुन बाटो लागि अब अधोगतिको
अब मलाई सोच्नुछैन धेरै अगाडिको
उसको लागि बन्नैपरे बन्छु भाउ कवाडीको
म त खुशी छु यतिमै उ फेरि फर्केर आयो !!
टन्टलापुरे चैतको घाममा फेरि पानि दर्केर आयो
यो रोकिनै लागेको मुटुको धड्कन
तुफान जस्तै तेजसँग धड्केर आयो !!
कयौं दिनसम्म निस्सासिएको आकाश आज बल्ल खुलेर आयो
त्यो सुकेर मर्छ भनेको बोटमा पनि रङ्गिन एक फूल फूलेर आयो ।।
-Usha Sharma Kiah

