मेरी आमा | कविता | Priyanka Shahi

नौ महिनाको अप्ठ्यारो अनि उत्सुकताको यात्रा पार गर्दै मलाई यस धर्तीमा ल्यायौ,
आफ्नो इच्छा अनि रहरको आहुती दिई मेरा इच्छा पुरा गर्ने तयारी सबै भ्यायौ,
कति सताये होला तिमीलाई,कति बिगारे होला आधी रातका तिम्रा ति मीठा निन्द्रा,
सम्झिदै आज तिमी भन्छौ बिर्सन्थियौ रे सबै कुरा तिम्रो अगाडि मैले मुस्काइ दिँदा,
तिमीले दिएका सबै इच्छाहरुको आहुती अनि तिम्रो अपार मायाको सधै रहनेछु म ऋणि,
शशी जस्तो चम्किलो मुहार,पृथ्वी जस्तो सहनसिल्ता अनि अपार मायाकी धनी मेरी आमा तिमी!!

आइपरेका सबै बाधा ओठमा मुस्कान राखी छौप्यौ,
अशान्त थिए होला मन पिडा अनि पीरले लुकाई सबै व्यथा खुसी जति मेरो भागमा सुम्पियौ,
झुकेनौ कहिले कुनै पनि स्तिथिमा, न सिकायौ मलाई केहि अनि कोहि सामु झुक्न,
साथ अनि साहसको लठ्ठी बनि उभियौ जब जब खोजेँ मैले मेरा थाकेका विवश पाइला राेक्न,

जिन्दगीकाे एउटै मात्र प्रार्थना तिम्रो मुहारको ओठमा हर एक पल हाँसोको धर्काहरुले बास गरोस,
जति ठूलो दुःखको आँधी आइ परे पनि नडग्मगाआोस् तिम्रो बाँच्ने जाँगर अनि जोस,
थाहा छ शब्दकोषका शब्द कम पर्छन पोख्न खोज्दा तिम्रा लागि मेरा भावना,
जब जब जिउन व्यर्थ लाग्यो बोकी मनमा सपनाको चिहान मेरो सपनामा अड्केको एक सर्को सास तिमी मेरी आमा ।

-Priyanka Shahi

Photo by Phil Hearing

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *