“म” को महागान | Basanta Aryal

म

“म” को महागान

आज “ म ”को महागान लेख्ने इच्छा जाग्यो । आखिर त्यो म नै हुँ, सधैं तँ, त्यो, उ, उसको, तिनको, तिनीहरुको बद्ख्वाई उडाउने । आज आफ्नै “म”लाई अध्ययन गर्दा बोराका बोरा खराबीका पोका निस्किए।

अरुको आङको भैंसी देख्ने मेरा आँखा मेरै आङको जुम्रा खोज्दा, डाइनासोरस फेला परे । “म” सँधै अरुलाई सत्तोनसराप गर्ने प्राणी, कहिल्यै मभित्र पसेको रहेनछु । “म” र मेरो गल्ती यो दुनियाँमा नहुने सोच्ने “म”, आफूलाई नजोगाईकन मेरो अध्ययन “म” आफैंले गर्दा “म” भित्रभित्रै कुहिएको फर्सी जस्तो रहेछु ।

फलानु र ढिस्कानु यस्तो र उस्तो भनेर आफूलाई पानीमाथिको ओभानो सोच्ने “म” दुराचरणको फोहोर पानीमा डुबेको होइन, ढाडिइसकेको रहेछु । “म” कस्तो रहेछु ?

समाजमा मेरो मपाइत्व अचम्मको छ । “म” अरुलाई सहयोग गर्न जान्दिन, तर “म” सहयोग चाहन्छु । अरुको सुखमा खुसी हुन आउँदैन मलाई, तर “म” आफ्नो जयमा दुनियाँको जयजयकार चाहन्छु । म अरुको सफलतामा नानाथरि अड्कल काटेर बस्छु, तर मेरो सफलतामा अरुको गड्गडाहट ताली चाहन्छु । “म” अरुलाई बोलाएर एक छाक खुवाउन सम्झिन्न, तर अरुकोमा गएर भुँडी फुट्ने गरी खाएर उसैको निन्दा गर्न “म” चुक्दिनँ । लाउड स्पिकरमा फुल भोलुममा अंग्रेजी गीत घन्काउने मै हुँ । तर छिमेकैमा विहानै भागवत सप्ताहको मन्त्रोच्चारण हुँदा मलाई डिस्टर्ब हुन्छ । आहा “म”, कस्तो राम्रो “म” ।

सार्वजनिक ठाउँमा पनि मेरो मपाइत्व कम छैन । “म” पसलबाट चुरोट किनेर सार्वजनिक ठाउँमा पत्यौल धुवाँ उडाउँदै हिड्छु किनकी “म” मै हुँ।  त्यसो गर्दा म आफूलाई सिनेमाको हिरो सम्झन्छु। म आफूलाई डन सम्झन्छु। मेरो पुरुषार्थ एक खिल्ली चुरोट बाटोमा उडाउँदै हिँड्दामा झल्किन्छ। तर म सोच्दिन मेरो चुरोटको धुवाँले दुनियाँलाई कस्तो असर परेको छ ।

“म” पराग खान्छु। म सुर्ती खान्छु। म चक्लेट खान्छु चाउचाउ, विस्कुट खान्छु। त्यसको प्याकेट, त्यसको खोल निसन्देह सडकमा मिल्काइदिन्छु । अनि अलि पर एउटा मदिरा पसलमा छिरेर यो देश कहिल्यै सुध्रेन, जताजतै फोहोर छ, सरकार के हेरेर बसेको छ भन्छु।

त्यो पनि मदिराको वेहोसीमा ।

वास्तवमै “म” कति महान छु । मेरो महानताको कदर “म” आफैं मात्र गर्न सक्छु होला ।

सडकमा मेरो मपाईत्व अझ गज्जबको छ । कसैले मलाई बाटोमा हेर्यो भने त्यो मेरो लागि अपमान हुन्छ । किनकी “म” टोलको भुस्याहा गुण्डा पो हुँ त।

फेरि मलाई बाटो जाम भएको मन पर्दैन। त्यति नै खेर मैले ट्राफिक प्रहरीको खिल्ली उडाइसकेको हुन्छु। तर आफ्नै घर अगाडिको बाटो पेलेर पर्खाल लाएको छु। बाटो सानो छ, तर म बाटो फराकिलो पार्न दिन्न । मेरो बाइकको आवाज कुनै हेलिकप्टरभन्दा कमको छैन। मोडिफाई गराएर टोल हल्लाउने क्षमताको बाइकको बनाएको छु । तर हाम्रो देशको ट्राफिक नियमको काम छैन भन्दै भट्टीमा कुर्लिने मैं हुँ एक नम्बरमा ।

मेरो चतुर्याई कुनै कागको भन्दा कम छैन न फेरि । घुस ख्वाएर भएपनि मेरो काम म समयमै निप्टाउँछु । अनि म आफैं भट्टीमा यो देश भ्रष्टाचारले सकेको भनेर नैतिक भाषण दिन पुग्छु ।

त्यो पनि बेहोसी मै ।

सरकारी भनेपछि मलाई केही मन पर्दैन। मनपर्छ त सरकारी जागिर मात्र। त्यो बाहेकको सरकारी धारो भाँच्दिन मन लाग्छ। सरकारी गाडी फुटाइदिन सोच आउँछ। आगै लगाइदिन मन लाग्छ। अझ सरकारी स्कूलको स्तर मसँग मिल्दै मिल्दैन। तर सरकारी जागिर एउटा भइदिए हुन्थ्यो भनेर सेटिङ मिलाउछु। वास्तवमै म जति बाठो कोही छैन ।

मेरो साथी विदेश गयो। मलाई नि जानु छ । मलाई बुवासँग पैसा छ-छैनसँग कुनै सरोकार हुँदैन । मेरो भविष्यको खोक्रो दुहाइ दिँदै बुबामाथि आर्थिक प्रेसर थुपार्न म पछि पर्दिन। तर १ पैसा निकाल्न सक्ने क्षमता मैसँग हुँदैन।

मेरो दिनचर्या गल्लीमा चुरोट उडाउँदै जान्छ। त्यो पनि आमासित पैसा मागेर। सानेतिनो मोबाइल बोक्न मलाई लाज लाग्छ। आईफोन चाहिन्छ, तर ब्यालेन्स हाल्ने पैसा आमाको खाटमुनीबाट झिक्छु।

वास्तवमा मेरो परिवारप्रतिको जिम्मेवारी उच्च छ, महान छ, धेरै छ ।तर पनि म आफ्नो आङको डाइनासोरस देख्दिन, अरुको आङको जुम्रा मात्रै भेट्छु । सायद त्यहि भएर राम्रो “म” भनिएको होला ।

 

 

Also Read:

https://offlinethinker.com/jivan-shahi-offline-thinker/

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *