(अ)छुतको प्रश्न
म सम्झन्छुु—
सानोमा, खोइ किन हो कुन्नि
सबै म देखि पर–पर भाग्ने गर्थे,
आमा नछुनी हुँदा हजुरआमाले पन्छाए जसरी
साथीहरु म बाट टाढा सर्थे ।
मेरो लागि मन्दिर थिएन
म बाहेक सबैले–सबैलाई छुन्थे,
न मेरो लागि पानी पधेँरो थियो
त्यसैले, म सधैँ काकाकुल हुन्थेँ ।
कस्तो निर्दयी थिए ती साथीहरु
जन्तु छुन् नपाउँदा आँसु झार्थे,
कस्तो निर्दयी थिए ती “जातिहरु”
मान्छे भएर मान्छेलाई बार्थे ।
म झस्किन्छु—
अचेल कागजको परिवर्तन देखेर
भन्छन्—समाज विकाशोन्मुख हुँदैछ,
गाउँमा न परिवर्तनको कागज भेटिन्छ
त्यसैले, बराबरीको सपना मनमनै रुँदैछ ।
सहरमा समानता छ भन्छन्
कतिबेला होला त्यो गाउँमा आउने,
म अछुत छु अझैसम्म
कहिले होला म मन्दिरभित्र पस्न पाउने ?
हल्ला थियो, कानुन आयो रे
सबैले–सबैलाई बराबरी गर्ने,
अझै कसैले छुँदैनन् मलाई
म कानुनमा कहिले पर्ने ?
Photo From Unsplash
You May Also Like:
Martyr | Poem by Sandip Gyawali | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

