जिन्दगीमा ठूलो लक्ष्य बोकेर म हिडेको छु
समाजमा कोकस्ता छन् राम्रोसँग चिनेको छु |
यहाँ शीर ठाडो बनाइ हिन्न औकात चाहिने रैछ
पैसा भए मात्र इज्जत किन्न पाइने रैछ ||
सुख छँदा मित्र आफन्त चेप्रे घस्दा रैछ्न्
दुःख बेला सहयोग खोज्दा मौन बस्दा रैछन् |
सबै खुसी यदि आफ्नो स्वार्थ भए पूरा
मुखमा भने राम राम छ बगलीमा छुरा ||
दुःखी गरिबलाई त यहाँ मान्छे गनिदैन
चोरको बरु इज्जत होला मेहनेतीको छैन |
ढुत्न लुट्न पाएसम्म सबै आफ्ना बन्छन्
त्यसपछि न त वास्ता न त मान्छे गन्छन् ||
यो समाजमा भलो चिताउने केबल बुबाआमा
यिनै हुन् आफ्ना मेरा राख्नुपर्छ नाम |
दिनुभाछ शिक्षा हामीलाई झेल्दै दुःख पीर
भोली उनको गर्वले उठाउनु छ शिर ||
धनसम्पती त धेरै छैन शिक्षामा छ लगानी
त्यही लगानीको फल दिने कर्तव्य मैले ठाने |
दुःख अनि परिश्रमको मैले तिर्नुपर्छ रीन
सङघर्षको बाटो हिंड्दा आउला सन्तुष्टिको दिन ||
षड्यन्त्र र घोचपेचको चक्रब्युमा फसेको छु
पक्कै आफ्नो दिन आउला प्रतिक्षामा बसेको छु |
राम्रो ठाउँमा पुग्नु छ मेहनेत गर्छु निरन्तर
चर्चा होस् प्रगतीको डाहा गरून् वरपर ||
घमण्डले उन्मत्तभै खिस्याएर होच्याएर
औकातको कुरा गर्दै राख्न खोज्छ्न् झुकाएर |
आफू अब्बल बनी यिनको सेखी झार्नु छ
भोली यिनलाई आफ्नो सामु झुक्ने पार्नुछ ||
-Dilip Bhatta
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

