किन भन्नु हुन्न त ‘आइमाई’? (लेखः नारीवादी दृष्टिकोण) Erish Ghimire

नयाँ ठिमीको चोकमा बाटो काट्न कुरेको बेला एक जना पुरुष फोनमा बोल्दै अगाडि बढि रहेका थिए । पैदल यात्रुको ट्राफिक लाइट रातो बलेको थियो । अचानक मोडमा गइरहेको गाडी अगाडिबाट स्वाट्ट जाँदा उनको सात्तो उड्यो । रिसको झोकमा गाडी तर्फ हेर्दा उनले एक महिला चालक देखेर “कस्ती आइमाई रहिछे !” भनेर कराए। उक्त दृश्य हेर्ने यात्रुहरुले पनि आक्रोशित हुँदै ती महिलालाई नराम्रा शब्दहरुले हप्काए । सरापे । तर रातो बत्ती बल्दा बल्दै अघि हिंडेको पुरुषको गल्ती प्रति कसैको ध्यान गएन ।

यही सन्दर्भमा दैनिक जीवन व्यवहारको बोलीचाली-भाषालाई नियालेर हेर्दा यहाँ ‘महिला’को सट्टा ‘आइमाई’ शब्दको प्रयोग गरिएको पाइन्छ । ‘आइमाई’ शब्द सामान्य बोलीचालीमा प्रयोग भएता पनि औपचारिक अथवा आधिकारिक परिस्थितिमा भने ‘महिला’ नै प्रयोग गरिन्छ । यहाँसम्म कि नेपाली भाषाको सामान्य अनुवादमा पनि । यस्तो किन त ?

वास्तवमा ‘आइमाई’ शब्द संस्कृत ‘आर्यामाता’ शब्दबाट आएको हो । ‘आर्यामाता’ शब्दले ‘माता’ अर्थात ‘आमा’ अर्थ दिन्छ तर नेपाली बृहत शब्दकोषमा ‘आइमाई’को अर्थ ‘स्वास्नीमान्छे’ भनेर जनाइएको छ । अहिलेको आधुनिक प्रचलनमा भने ‘आइमाई’ शब्द अपकर्ष भएर हेपाइको अवस्थामा रहेको पाइन्छ । यहाँ कोही महिलालाई होच्याउने वा हेला गर्ने मनसायले बोलाउदा ‘आइमाई’ शब्दको प्रयोग हुने गर्दछ । गाउँघरमा बढी प्रयोग हुँनाले यो शब्दको वास्तविक अर्थ संकुचित हुँदै महिलाहरुलाई निरीह बनाउने लक्ष्यले प्रयोग हुन्छ । गाउँमा सिमित नभइ सहरमा पनि यो शब्दको प्रयोग होच्याउने कुरातिरै समावेश गरिन्छ । कतिले थाहा पाएर प्रयोग गरेका छन् भने कतिले थाहै नपाएर ।

अर्को सन्दर्भमा डोनल्ड ट्रम्पले महिलाहरुलाई विशेष रुपमा तुच्छ शब्दहरु प्रयोग गरी होच्याउन खोजिएको एक प्रमुख उदाहरण लिन सक्छौँ । पूर्व राष्ट्र सेक्रेटेरी हिलरी क्लिन्टनलाई राष्ट्रपति निर्वाचनमा कुरुप बोलाँउदै, पदलाई अयोग्य ठहराउदै र अनेकौँ शब्दहरु प्रयोग गरी अपमान गरिएको पनि थियो । २१ औँ शताप्दीमा सभ्य भाषाको महत्व बढ्दै गइरहेको बेला राष्ट्रपति जस्तो गरिमामय पदमा भएकाले यस्ता शब्द प्रयोग गर्दा व्यक्ति मात्र नभइ पुरै नारी वर्गलाई जनाइएको बुझिन्छ । यस्ता शब्दहरुले कुनै लिङ्गप्रति तुच्छ भावना उत्पन्न गर्ने र भाषाको ठीक प्रयोगमा बाधा ल्याउने गर्दछ।

भाषाको दैनिक प्रयोगमा यस्तो भेदभाव भेटाउन हामीले अंग्रेजी भाषालाई मात्र हेरिराख्नु पर्दैन । नेपाली भाषाको प्रयोगमा पनि भेदभाव प्रचलित देखिन्छ । घरघरमा अझ ‘महिला’लाई होच्याउने अरु नकरात्मक शब्दहरुको प्रयोग गरेको यत्रतत्र पाइन्छ। ‘एकल महिला’ अर्थात ‘विधवा‘का सट्टा ‘राणी’ जस्ता अस्वभाविक शब्द बढी प्रयोग भएको पाइन्छ । या चौथो नारीवादी आन्दोलनले महिलाहरु मात्र नभइ अरु अभिमुखीकरण भएका व्यक्तिहरु पनि समावेश गरेको छ । नारीवादको विषय बृहत भएकाले यसमा लैङ्गिकता सन्दर्भ पनि जोड्न मिल्छ । ‘समलिङ्गि’ व्यक्तिलाई जनाउन ‘छक्का’ जस्तो भेदभावपूर्ण शब्द प्रयोग गरेको पाइन्छ । अझै ‘छक्का’ आजको पुस्ताले पुरुषहरुलाई जिस्क्याउन र होच्याउन प्रयोग गर्छन् जसले स्त्रीलिंगी विशेषता देखाउछन् । समाजमा महिलासँग सम्बन्धित केहि काम गर्नसाथ उनीहरुलाई हेपाइको घेरामा राखिन्छ ।

भाषा जस्तो सामान्य पक्षमा किन संवेदनशील हुनुपर्छ ? यदी एउटा बुवाले आफ्नो छोरा अगाडि आफ्नै आमालाई अपमानजनक ढंगले ‘आईमाई’ ‘भनेर बोलाउछ भने त्यो बच्चामा नारी वर्गप्रति कस्तो छाप बस्ला ? विशेषज्ञहरुका अनुसार भाषा, चलन र विचार अन्तर्निहित हुन्छन् । भाषाहरूले विश्वलाई बुझ्न वा संसारको बारेमा सोच्न हाम्रो क्षमतालाई सीमित गर्दैन तर हाम्रो धारणा र ध्यान केहि विश्वका विशिष्ट पक्षहरूमा केन्द्रित गराउँदछ । समाजशास्त्री एल्फ्रेद सुत्ज(Alfred Schutz)का अनुसार दैनिक नित्यकर्म र नित्य अन्तरक्रियाले हाम्रो जीवनको क्रिया र बोलिचाली निर्धारण गर्दछन् । यसलाई समर्थन गर्दै समाजशस्त्री रिचर्ड जेन्किन्स(Richard Jenkins)ले पनि अन्तरक्रिया मार्फत ‘भाषामा संस्कृति अभिव्यक्त हुन्छ’ भनेका छन् । त्यसैले हिजोआजको सन्दर्भमा ‘आइमाई’ जस्तो शब्द प्रयोग गर्दा महिलाको अस्तित्वलाई होच्याइ उनीहरुका पहिचानलाई अमानवकृत गरेको छ। पुरुषलाई होच्याउन ‘छक्का’ जस्तो शब्द प्रयोग गरिन्छ । यस्तो शब्दहरुको प्रयोग गर्दा समाजमा चलि आएको पितृसक्तात्मक संरचनालाई झल्काउँछ।

२१ औं शताब्दीमा चौथो नारीवादी आन्दोलनको प्रतिकृया जल्दोबल्दो रहेको छ र यहि क्रममा महिला सशक्तीकरणको गति बढि रहेको पाइन्छ । नारीहरुले औपचारिक शिक्षा अध्ययन गर्नुका साथै सार्वजनिक क्षेत्रमा पनि अघि बढी रहेको देखिन्छ । यो आन्दोलनले समानताका साथै ‘इक्विटी’को कुरा पनि दर्शाउछ । नारीवादी दृष्‍टिकोण अब भोट हाल्ने र संसदमा प्रतिनिधि पठाउने जस्तो कार्यमा मात्र सिमित हुँदैन ।

यो लेखले झै नारीहरुको हक र अस्तित्व जोगाउन तथा सहकार्य गर्न मिडिया र सामाजिक सञ्जाल पनि समावेश गरिएको पाइन्छ । दैनिक जीवनमा प्रयोग हुने भाषा पनि यसरी नै समावेश हुँदै गएको छ । समानताको भाव व्यवहारमा उतार्न नारीहरूलाई शिक्षा प्रदान गरेर मात्र हुँदैन । सो शिक्षामा विवेकशील भाषाको प्रयोगलाई पनि प्राथमिक्ता दिनुपर्दछ। बालबालिकाहरु बढ्ने क्रममा यस्तो कुराबाट छिट्टै प्रभावित हुन्छन। त्यसैले दैनिक बोलिचालीमा अभिवावक र शिक्षकहरुले सकरात्मक अर्थ जाने शब्दहरु प्रयोग गर्नुपर्दछ । नारीवादी विचारले पुरुषहरुलाई पनि आफ्ना भावनाहरुसँग सद्भाव राख्न सहयोग गर्दछ भने उचित भाषाको प्रयोगले मात्र सद्भाव उत्पन्न हुने गर्दछ ।

भाषा विवेकको उपज हो । भाषाको प्रयोगमा असाधारण विवेध झल्कियो भने त्यो विवेकहीन हुनपुग्छ। नारीवादी विचारले समानतालाई टेवा दिन्छ । हृदयमा समानताको भाव ल्याउन व्यवहार लगायत शब्द निर्माणमा जोड दिनुपर्छ । ‘प्रगति’ भौतिक प्रगतिमा मात्र सिमित हुनुहुँदैन- मनिसको चिन्तनमा पनि परिवर्तन आउनुपर्छ । भाषा सभ्यताको प्रतीक हो तसर्थ हेय र तुच्छ शब्दहरूलाई नकार्नु नै सभ्यताको मार्गमा लाग्नु हो । सभ्य र सन्वेदनशील भाषाको प्रयोग मार्फत चिन्तनमा सकरात्मक परिवर्तन ल्याउन सकिन्छ । तसर्थ नारीवादी विचारको समानताको भावलाई समर्थन गर्दै सबैले समय सान्दर्भिक भाषाको प्रयोग उचित हुन्छ ।

 

 

मनसा प्रधान,         ईरीश घिमिरे( Erish Ghimire)

(लेखक द्वय काठमाडौं स्कुल अफ ल, बि. ए. एल एल. बि. दोश्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।)

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *