Nepali Poem | Krishna Dahal
म रामचन्द्र,
हजुर रामचन्द्र,
तर भगवान होइन पूजा योग्य हुनको लागि
म त रामचन्द्र यादव।
त्यसैले मेरो पूजा यहाँ सम्भव छैन,
अहो, कहाँ पूजा!
यहाँ त मेरो आदर पनि पो त सम्भव छैन,
न सम्भव छ मेरो पहिचान र अस्तित्वको स्विकृतीको।
हुनलाई त मेरा पूर्वज र वंशज
हामी शृकृश्ण अवतरित दिव्य कुल यदुवंशका हौं भन्दछन्,
तर आखिर भन्ने पनि त त्यिनै मेरा स्वजन र आफन्त न हुन्,
जसको हस्ताक्षरले मलाई न प्रामाणिकता दिन सक्दछ न समायोजन।
आफ्नो अस्तित्व सिद्ध गराउन संघर्षरत यस बबुरोले
कठै के पाउला र इतिहास छिचोल्न।
मधेशी नै भए पनि म देशी नै हुँ है!
भन्ने परिचयपत्र र प्रमाणको ठेली बोक्न विवश मेरा काँधहरूले
मलाई कहाँ आफ्नो शिर उँचो गरी
आफ्नो दिव्यताको खोज र दाबी गर्ने अवसर देलान् र?
कक्षाकी सुन्दर श्वेतालाई म अश्वेत भएकै कारण घिनलाग्दो लागेँ रे,
उमेरले भतिजादेखि काका,
साइनोले मित्रदेखि अजनवी,
सबैलाई म मधेसकै भएकाले भैया भएँ रे।
मेरो मधेसको प्रचण्ड सूर्यले मलाई दौरा नलगाऊ भनेर धोती सुझाए,
अनि त म काठमाण्डौंको मिनपचासको जाडोमा पनि धोती नै भएँ रे।
मैले फलफूल बेच्दा ठग्छु रे, कपाल काट्दा बैमानी गर्छु रे,
मैले कवाडी संगाल्दा चोर्छु रे, अनि जहाँ बस्छु फोहोरको डंगुर लगाउँछु रे।
त्यति मात्र होइन मैले डाक्टरी र इन्जिन्यरिङ गर्दा पनि दाइजो नै जोख्छु रे।
हे मातृभूमि!
बारा र विहारको संस्कृती मिल्दैमा दुवै एकै हुन्छन् भन्ने कसले सिकाएको काठमाण्डौंलाई?
हुन त जनकपुर र जयनगर दुई फरक देशमा पर्नु सांयोगिक घटना नै हो।
तर संयोग जब जुरी नै सक्यो भने
महोत्तरीकालाई पनि मोतिहारीका देख्ने आँखाहरू समक्ष यो संयोगको भेद किन नखोलिदिएको तिमीले?
कलैयासँग काठमाण्डौंको दुरी त कल्कत्ताभन्दा कम नै छ नि हैन र?
तैनी, मन चाहिँ किन कोशौं दुर गराइदिएको तिमीले?
म त झोलामा प्रमाण समेत बोकेर चिच्याइरहेछु कि,
म मानचित्रले यही देश बताउने इलाकामा जन्मेँ, बढें अनि बाँचेँ।
तर मेरो वर्ण र रंग,
लवज र ढंग,
सबै मिली मलाई गिज्याइरहन्छन्,
मानचित्र भित्रको सत्यबाट अलग्याई मनचित्रको कथामा ‘अरू नै’ देखिरहन्छन्।
यो नागरिकता बोकेको अनागरिक
आज आफूसँग नाम मिल्ने शृ रामचन्द्र भगवानसँग भेट्न पाए यति भन्न चाहिँ अवश् चाहन्थ्यो कि,
हे भगवन!
यस मनुष्यमा पनि भागवत तत्व भरिदेऊ!
अन्यथा केही त देऊ जो दिव्यो होस्,
जो मलाई गर्वयोग्य बनाइदियोस्,
अनि शायद यो मधेसी पनि म देशी नै हुँ भनेर सगर्व भन्न पाउनेछ।
नत्र त सिमा वारीको घरखेतकालागि लड्दा देशको भूमिको समेत रखवारी गरिरहेको म,
सिमापारी देश बुझाउने देशबेचुवा नै ठहरिईरहनेछु।
मधेसको मानवले त न यहाँ पहिचान पाउँछ प्रभू, न सम्मान।
आज मजस्ता हजारौं जीवित रामचन्द्र समेत नागरिकता बिना बाँच्न अभिशप्त हुँदा,
आज त्यस्ता कैयौं लखन आत्मगौरवबाट वन्चित भइरहँदा,
ईश्वर भएकै कारण हजारौं वर्षपस्चात पनि
तिमीले यस देशको पहिचान र मृत्यपर्यन्त मानार्थ नागरिकता पायौ नि।
म त न महात्मा बुद्ध हुँ,
न हुँ राजर्षी जनक,
भगवान नभई त मधेसी यहाँ भाग्यवान हुन सक्दैन रे त।
यस सबै जना नश्वर रहेको समाजमा
जनता बन्न र इज्जत पाउन
म चाहिँ कसरी ईश्वर बनुँ प्रभू!
तसर्थ
हे शृ राम,
तिमीलाई आह्वान गरेर,
तिमीलाई नै साक्षी राख्न चाँहे,
यस तराईको पराई आफ्नो छाला र बोलीको पासपोर्ट भिरेर आज यस स्वदेशको विदेशसमक्ष
न्याय मागिरहे छ।
Read More From Krishna Dahal
सेतु | कविता | कृष्ण दाहाल [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com