जब,
मेराे कालाे जीवनकाे, कालाे मन
अनि काला मनका काला प्रतिबिम्बहरु
अध्यारो रातकाे कालाेपनसङ्ग मिसिन्छन्,
तब,
भलादमीपनकाे झुटाे जालाेमा जेलिएको
मेरो आत्मा,
राक्षशीपनकाे कालाे लवज पहिरिएर नाच्न थाल्छ
त्यसैले त, मलाई दिन भन्दा रात प्याराे लाग्छ !
जब,
सफेद दिनको आडम्बरी हासाे त्यागी
आर्तनादकाे सागरमा,
चुहिरहेका मेरो आँशुका भेलहरुसङ्ग
मदिराका प्यालाहरु साथी भैदिन्छन्
तब,
म भित्रकाे यथार्थ “म” हास्दछ
त्यसैले त मलाई घर भन्दा त्यो भट्टि प्यारो लाग्छ !
न कुनै जालझेल
न कुनै छलकपट
त्यो श्रृङ्गार पछिको नियत स्पष्ट हुन्छ
सायद ,
त्यसैले त मलाई श्रीमतीको काखभन्दा
त्यो रेष्टुराकाे खाट प्याराे लाग्छ !
जब,
असल पात्रको भूमिकाले
मारिरहेकाे मेराे जवानीलाई
झिसमिसे चाेकहरु ललकार्छन्
तब,
आनन्दकाे चरम बिन्दुमा
रमाईरहेकाे मेरो जवानीलाई
त्यो काेठि साथ बनिदिन्छ
त्यसैले त मलाई बिहान भन्दा साझ प्याराे लाग्छ !
जताततै अन्ध्यारै, अन्ध्याराे
जहाँ मेराे यथार्थलाई छाेप्न
दिनझै,
सेताे कात्राे ओडिरहनु पर्दैन
त्यसैले त मलाई दिन भन्दा रात प्याराे लाग्छ !!
-Mukesh Khatri

