तिम्रा ती सुखका राजधानीमा खुशीका महलहरुले चन्द्रागिरीको डाँडा छुनै लागेका कथा,
अनि ,
मेरा यी दुःखनगरमा बन्दै गरेका यी झुपडीहरु पहिरोले पुरेका कथा ।
तिम्रा ती राजधानीमा सुपरमार्केटसम्म जाँदा ड्यूक दुर्घटनाका कथा,
अनि,
मेरा यी दुःखनगरमा गर्भवतीलाई डोकोमा अस्पतालसम्म पुर्याउदाका दुर्घटनाका कथा ।
तिम्रा ती राजधानीमा मुख भरिका सास परदेशी भेपसगैँ उडाएका कथा,
अनि,
मेरा यी दुःखनगरमा खाली सास परदेशी बाकस भरिएर आएका कथा ।
तिम्रा ती राजधानीमा ‘एक घर एक बिजुली डोरी’का कथा,
अनि,
मेरा यी दुःखनगरमा ‘एक गाऊँ पाँच आत्महत्या ‘डोरी’का कथा ।
तिम्रा ती राजधानी सुख बेचेका कथा,
अनि,
मेरा यी दुःखनगरमा दुःख किनेका कथा।
तिम्रा ती घरैघरका राजधानीमा पनि बूढी आमालाई वृद्धाश्रम पुराएका कथा,
अनि,
मेरा यी दुःखनगरका एक कोठे झुपडीमा पनि अतिथीलाई वास दिएका कथा ।
तिम्रा ती जितैजितका राजधानीका कथा
अनि,
मेरा यी तीता पाईलै पछी हारैहारका कथा।
तिम्रा ती राजधानीमा राज’धनी’ का कथा,
अनि,
मेरा यी दुःखनगरमा दुःख का रोल्पा, डोल्पाका कथा ।
यी कथैकथाका कथामा ‘कठै तिम्रा र कठै मेरा’ कथाहरु ।।
-Bronika Thapa
_______

