महोदय
म भ्रष्टाचारी होइन
परिस्थिति यति जटिल भैदियो
श्रीमतीज्यु घरमा बनेको केइ ज्युनार गरिसिन्न
हिरा बाहेकका गहना लगाइसिन्न
महङ्गी कस्तो छ
अबगत गराउनु नपर्ला
महोदय, परिस्थिति जटिल हो
म भ्रष्टाचारी होइन
छोरी झुर लाइफस्टाइल भन्छे
पोहोरको स्कुटी पुरानो भो
मोबाइल बजारमा नयाँ आइसक्यो
छोरो नयाँ बाइक भन्छ
पकेटमनी छुट्टा चाइयो
बिजनेस गर्ला केही,
लगानी गर्नै पर्यो
बाउको पुरानो ऋण तिर्नै पर्यो
महोदय
परिस्थिति अति जटिल भो
महङ्गी चुलिदै गो
कलेज कति महङ्गा
फि तिर्नै पर्यो
आमाको आश्रममा पनि अलिकति दिएझै गर्नुपर्यो
घर छोरा नातिको लागि पनि सोच्नुपर्यो
छोरीलाई दाइजो पो के दिउला खै
समय उत्ताउलो भो
परिस्थिति जटिल भो
म भ्रष्ट होइन
हजुर
यो त बाध्यता हो
सारा देशको जिम्मेवारी काधमा छ
घरको बारे पनि त सोच्नु पर्यो
आज बाँचेर नहुने रैछ
भोलिको लागि सोच्नु पर्यो
सत्ता कार्यकाल मेरो आयु भन्दा छोटो रैछ
अर्को चोटीलाई पनि त सोच्नु पर्यो
नातिले हजुरबुवा कै आश गर्ला
अलिकती भावी पुस्ताको लागि सोच्नुपर्यो
समाजमा बसेपछी
सामाजिक हुनुपर्दो रहेछ
नामकै लागि भएपनि सामाजिक हुनुपर्यो
सत्तामा भएर घमण्ड गर्नु पनि भएन
अलिकति विपक्षलाई सोच्नुपर्यो
महोदय
म भ्रष्ट होइन
एक दुई होउला
भ्रष्टचार त हुँदै होइन
बुजकारी हुनुहुन्छ
बाध्यता बुझिदिनुस्
परिस्थिती बुझिदिनुस्
न्याय समझदारीमा गरिनुपर्छ
बरु तपाईको बाध्यता म हेरी दिउँला
बुझिदिनुस्
महोदय
म भ्रष्ट होइन ।
-Gaurab Nyaupane
_______

