समाजकी राम्री उहाँ
समयः १० बजे राति
स्थानः कार्य टेबल
उहाँको नाम उहाँ।
म उनलाई उहाँ नै भन्छु।
उहाँ त समाजकी राम्री!
आफ्नो लागि? सायद!
हाम्रो लागि ? खै!
तर हाम्रो लागि पनि हो। हामी पनि त्यही समाजको भेडा त हौँ।
उहाँ पहिले नराम्रो पनि थिइन्।
कस्तो राम्रो राम्रो लेख पो लेख्थिन्। राम्रो कुरा गर्थिन। अनि नराम्ररी भइहालिन नि।
मैले उहाँलाई भुकम्प गएको बेला,
आफन्तकोमा जाँदा भेटेको थिएँ।
एक्कासी आएर “दिलनवाज जी” भनिन्।
पहिलो पल्ट कसैले “जी” भन्दा एकछिन ट्वाल्ल परेँ।
ह्यात्तेरी!
किन गएछु जस्तो लाग्छ अहिले? बेकारमा नराम्री उहाँलाई भेट्न।
दश कक्षामा पढ्दै रहिछिन्। म पनि दश मै त पढ्थेँ। उहाँ कक्षाको टपर पनि रहिछिन्।
हाम्रो सोच अनि कुराहरू एकदम मिल्थ्यो र हामी घनिष्ट साथी भयौँ।
(विश्राम)
छ महिना पछी भेट भयो। कस्तो हुँदैछ स्कुल सोधेँ। उहाँले केही बोलिनन् । उहाँको भाइले गमक्क परेर भन्यो,
(खुशी हुँदै) “बिहे हुन लाग्यो दिदीको। दिदी त कति भाग्यमानी। अब खुसी भएर बस्नु हुन्छ। कति मज्जा मेरी दिदीलाई।”
भाइ किन ठट्टा गर्छौ भनेँ।
(एकछिन एकदम सुनसान भयो। कोहि बोलेन)
उहाँलाई अफ्ट्यारो लागेछ।
अनि उहाँ आफै बोलिन्।
(मधुरो स्वरमा)
{बिहे अर्को माहिना हो।}
(गम्भीरतापूर्वक)
तर उहाँको त्यो आवाजमा अब भिन्नै भाव थियो।
थिचिएको, दबिएको सपनाको भाव थियो।
म अक्क न बक्क भए, (विश्राम)
“किन, को सँग?”
फेरि के सोध्या सोध्लान् भनेर,
“अहिले नै ?” भनिहाले।
(विश्राम)
पछि फूपुज्यूबाट थाहा पाएकी,
त्यही गाउँको सबैभन्दा धनी केटासँग रे।
त्यही केटा जो दुई कक्षा पछि स्कुल गएन,
किन भन्दा?
अल्छी लागेर रे।
अब धनी मान्छे भने पछि त यसै पनि राम्रो भइहाल्यो नि यो समाजमा।
काम के गर्छ भन्दा।
बुलेट बाइक चलाउँदो रहेछ। (हास्दै)
मैले उहाँलाई भने, “यो बाल विवाह हो। हामी जस्तो पढेलेखेकाे मान्छे, झन् तिमी त सबलाई सम्झाउने, बुझाउने बुझेकी मान्छेले पनि यस्तो कुरामा आवाज नउठाएर हुन्छ?
(कोमल स्वरमा)
“आफ्नो आवाज संसारले सुनेन भने झन् बेस्सरी सुनाउनु।”,
(रिसाउदै) भन्थ्यौ त!
(विश्राम)
उनी बिग्रिन चाहिनन् मेरो कुराले।
मैले त्यो बेला के सोचेर सम्झाएछु,
किन सम्झाएको खै?
समाजको लागि उदाहरणीय हुन लागेकीलाई मेरो कुरा सुनाएर किन बिगार्नु मैले कुन्नि ?
उहाँ, बुवाआमाको चाहना अगाडी केही बोल्न सक्दिनन् अरे।
उहाँलाई कहाँ म बिगार्थे
(धन्न बिग्रिएनछिन् मेरो कुराले।)
(उच्च ऊर्जाका साथ)
हो त नि समाज पो सहि हो त। समाजको अंकल ,समाजकी आन्टी, समाजको दाइ, समाजको दिदीले भनेका पो सहि हो त। नातागोताले दिएको अर्ती पो राम्रो हो अरे त ।
(विश्राम)
उनको बिहेको बेला संयोग परेर बिदा परेछ। जान्न भन्दा भन्दै म पनि गएँ।
भोलि बिहानबाट उहाँ समाजको राम्री हुनेछिन्। समाजमा उदाहरणीय पो बन्दै छिन्।
भेट्न मन लागेन त्यो दिन। खै कुन्नि किन?
यो समय कहाँ रोकिन्छ र। बिहान पनि भयो।
उहाँको “आफ्नो” घर पनि आफ्नै घर रहेनछ, त्यो पनि छोड्दैछिन् र त्यहाँबाट आफ्नो घर जुन फेरि उहाँको आफ्नै घर हैन है,
पुग्छिन अब।
उहाँको भाइले भनेकाे जस्तै पक्कै पनि खुसी नै हुन्छिन् होला। कपाल कोर्ने काइयोदेखि सुत्ने खाट जो सँगै लग्दैछिन्। पानी पिउने गिलासदेखि फ्रिज, वासिङ्ग मेशीन, बाइक के हो के के…
अब त भेट्न पर्यो भनेर भेट्न गएँ।
उहाँ त कस्तो अर्कै उहाँ भै’छिन्।
उहाँलाई भेट्ने बित्तिकै, उहाँले लेखेको निबन्ध याद आयो। त्यो निबन्धले उहाँ जिल्ला स्तरिय प्रतिस्पर्धामा प्रथम भएकी थिइन्।
(खुसी हुँदै)
बेस्ट प्रेन्ड(Best Friend) शीर्षकमा लेखेको थिइन्।
(निराश हुँदै)
आज मेरो बेस्ट प्रेन्ड(Best Friend) को बिहे।
हेल्लो भने।
अनि ! अनि के?
(विश्राम)
समाजको कमजोर नारी त हुन्।
के नै गर्न सक्थिन्? रुन बाहेक।
तर म?
म त केटा।
म चाहिँ किन रोएको?
छ्या! किन रोएछु कुन्नी।
केटा भएर पनि कोही रुन्छ? धत्!
अन्ततः गइन उनी,
समाजको राम्रो उदहारण बनेर।
(विस्तारै) गइन….गइन।
म मेरो आफ्नै संसारमा व्यस्थ भए।
फेरि कहिल्यै भेट भएन।
फूपुज्यूसँग भेट हुँदा सोधेको थिए।
के छ उहाँको हालखबर भनेर।
उहाँ खुशी छिन् रे। कुल जोगाउने छोरा पो पाएको छिन्।
किन खुशी नहुनु?
उनी समाजकी राम्री, अनि घरको राम्रो छोरा पाएर खुशी भइहाल्छिन् नि।
तर एउटा कुरा सोच्छु म।
(कम गतिमा)
मैले उहाँलाई किन बिगारिन?
बिगारेको भए?
सायद उहाँ….
(उच्च ऊर्जाका साथ)
सामाजिक कार्यकर्ता अभियानता भएर समाज बिगर्थिन् कि?
शिक्षिका भएर विद्यार्थी बिगर्थिन् कि?
विज्ञान पढेर भविष्य बिगर्थिन् कि?
धन्न बिग्रिइनन्। धन्न
(कम ऊर्जाका स्वरमा)
समाजकी राम्री उहाँ।
You may also like:
जन्म, जीवन र मृत्यु | कथा | Hari Bhakta Dhital -[Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

