लकडाउन | कविता | Nabin Giri | काव्यकुञ्ज कविता प्रतियोगिता

Nabin Giri

लकडाउन, क्वारेन्टिन
सायद, तिम्रा लागि नयाँ भोगाइ हुनुपर्छ
निस्फिक्री स्वतन्त्र उडेको तिमीलाई
के मतलब थियो र क्वारेन्टिनको
तिमीलाई लाग्दै होला
यो नयाँ भोगाइ हो, कोरोना जस्तै
तर होइन,
तिम्रो जीवन भोगाइमा
आउनु भन्दा पनि पहिले थियो क्वारेन्टिन
हाम्रा लागि शब्द जरुर नयाँ हो तर
भोगाइ कदापी होइन
लकडाउन कायम थियो,
हाम्रो भोगाइमा, हाम्रो आवाजमा अनि हाम्रो छुवाइमा !

तिम्रो सुसंस्कृत अनि विकसित समाजको नजरमा
हामी हिजो पनि कोरोना सङ्क्रमित नै थियौँ
फरक यत्ती हो,
तिम्रो बुझाइमा, हिजो हाम्रो बस्तीमा मात्र केन्द्रित विषय
आज तिम्रो सभ्य वस्तिमा पनि
आइपुगेको छ कोराेना
विश्व महामारीको रुप लिएर
र बन्देज लागेको छ
तिम्रो हिँडाई, बोलाई अनि छुवाइमा
र कायम देखिन्छ समानता !

क्वारेन्टिनमा हामी
हिजो पनि बस्दै आएका हौँ
सिमित राखेकै हौँ आफुलाई
पिँजडा रुपी त्यो बन्दीगृह भित्र
प्रयोग गरेकै हो, छुट्टै धारो पानी
बनाएकै हो, छुट्टै पाइखाना
कायम राखेकै हो, सामाजिक दुरी
तिमीलाई नछोई मात्र होइन,
तिम्रा आँखामा आँखा नमिलाई
तिम्रा अघि शिर नठड्याई
दोहोरो वचन नगरी
सुनेकै हौँ तिम्रा आदर्शका कुरा
भोगेकै हौँ तिम्रो लोकतन्त्र
विभेद रहित समाजकाे यथार्थ
पुँजीवादमा लिप्त समाजवाद !

त्रसित मात्र होइन
हामी आभारी पनि छौँ कोरोना सँग
हाम्रो जीवन भोगाई
आज साझा दैनिकी भएको छ
अचानाको पिर खुकुरीलाई पनि महशुस
कस्तो अचम्म,
खुकुरीले कहिल्यै गरेन अचानाकाे परिकल्पना
सायद आज खुकुरी पनि अचानाझैँ भएको छ
भुत्ते अनि निशब्द

तर केही फरक चैँ जरुर रहेछ
तिम्रो र हाम्रो क्वारेन्टिनमा
हाम्रो क्वारेन्टिनमा कहिल्यै बनेन VIP pass
तिम्रो लकडाउनमा जस्तो
तिम्रो कोरोना सँगकाे जुधाईमा
जिब्रो आनन्दित अनि पेट सन्तुष्ट
हाम्रो जुधाई हरदम उपवासमा
हर ठक्करमा मलम पाएकालाई
यो घाऊ जरुर त्रासदी छ सायद
तर भोकको क्यान्सरसँग जुधेकालाई
कोरोनाको कहरले जहर पिलाउन सक्दैन
र नसकोस् तिमीलाई पनि !

-Nabin Giri

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *