म त असफल मानिस अरे साथी
थोरैमा सीमित हुँदा नि सन्तुष्ट हुन पुगेँ रे ।
म त मूर्ख अज्ञानी अरे साथी
छक्का र पन्जा गर्न जान्दै जानिन ।
अल्मल्लिरहेँ सधैं किताबी ज्ञानको भुमरीमा
व्यवहारिक संसारको चरित्र बुझ्नै सकिन ।
भन्नेले त भनेकै थिए ,चेतिने सुत्र पनि दिएकै थिए
भर नपर्नु है दार्शनिकहरुको कहिले
पिरोलिरन्छ मन र मस्तिष्कले जहिले
के गर्नु मेरो यो अटेरी मनलाई मैले
दशकौँ खर्दिदा पनि मनाउनै सकिन ।
मेरो त रुढी मानसिकता अरे साथी
नयाँ फेसन र आधुनिकतामा रमाउनै सकिन ।
म त घमण्डी अभिमानी अरे साथी
चिप्लो जिब्रो बटार्न हेर अझै जानिन
म त नास्तिक अधर्मी अरे साथी
मन्दिर र गिर्जाघर कहिले धाइन ।
म त लाटो अनि सुस्त मनस्थिति अरे साथी
ठूलो स्वर र बाहु जोर देखाउनै मानिन ।
म त निर्दयी निठुरी पनि साथी
बनावटी आँसु झार्नै जानिन ।
लाज लाग्छ मलाई पति भनिन पनि अब त
लखपत्नीको पति झैँ पत्नीलाई
उपहारमा कार र हार किन्न सकिन ।
मरेपछि मलाई बाँसकै ओछ्यानमा लाने अरे साथी
सम्पत्ति जोड्नेहरु मात्र
सायद सुनको शैय्या पाउने रे ।
म त शुन्यबाट सुरु
शुन्य मेरो यो अस्तित्व
अनि विलिन पनि मेरो शुन्य मै निश्चिति छ ।
-Poem by Dipesh Bhagat
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

