प्रजातन्त्र आयो रे, तर थाहा छैन प्रजातन्त्र वास्तवमै आएको हो कि होइन भनेर । यदि साँच्चै आएको नै हो भने प्रजातन्त्रले नै दिएको अधिकार पाएकोले म लेख्दै छु ।
एउटा देशमा एकै पटक कति राजाहरूले शासन गर्छन् थाहा छ तपाईंहरूलाई? प्रश्न सुन्दा अचम्म लाग्न सक्छ, अचम्म लाग्नु पनि स्वभाविक नै हो । तपाईंहरूलाई लाग्ला यसको उत्तर सानो बच्चाले पनि भन्न सक्छ भनेर, तर त्यस्तो कदापी हुन सक्दैन । तपाईहरूलाई लाग्ला यसको सहि उत्तर १ जना हो ।
हो, विश्वको सबै देशमा १ जना राजाले नै शासन गर्छन् । तर हाम्रो देश नेपालमा ६०१ वा त्यसभन्दा बढी राजाहरूले एकसाथ शासन गर्छन् । नेपाल, हाम्रो देश नेपालमा केही वर्षयता ६०१ राजाहरू छन् ।
फेरि यी राजाहरुको आफ्नै विशेषता छन् । ६०१ जना राजाहरू एउटै देशमा हुँदा त लडाईं हुनुपर्ने होइन र? तर यहाँ कुरा अर्कै छ, यहाँ यी राजाहरूमा मेलमिलाप अनि भाइचारा छ ।
यी राजाहरू मिलेर मोज गर्छन् अनि मिलेर ठूलो भोज नि गर्छन् । यिनीहरू अमर छन्, अम्मरे नामले म यिनीहरूलाई सम्बोध्न गर्न चाहन्छु । कहिल्यै नमर्ने, किनकि यिनीहरू मरे भने पनि यिनीहरूका वंश अनि पद सम्हाल्ने सन्तानहरू जन्मन्छन् ।
वि.सं २०६३ भन्दा अघि एउटै मात्र राजा थिए, उसलाई पाल्न गार्हो भएर हामी सबै मिलेर कुनामा थन्काइदियौँ । अनि २०६३ पछि अचानक ६०१ भन्दा बढी राजाहरूको जन्म भयो ।
त्यही ६०१ राजाहरूले गर्दा अहिले हामी जनताहरूले दुःख भोगिरहेका छौ । त्यो एउटै राजालाई पदबाट हटाउन लगभग २०० निर्दोष जनताले ज्यान गुमाउनुपर्यो ।
अब ६०१ राजालाई निकाल्दा त (६०१*२००=१,२०,२००)ले ज्यान गुमाउनु पर्ने होला । पहिले यी राजाहरूमध्ये कोही जङ्गलमा सुत्थे त कोही सुकुलमा तर अहिले प्रायजसो यी सबै पैसामा सुत्छन् ।
कठै, मेरो देश ।
-Roshan Sapkota