हे घरका सूर्य,
सारा परिवारलाई उज्यालो दिँदै जीवनको बाटोका जंघार तार्दा पनि तेल नसकिने कस्तो दियो हो त्यो,
हे घरका खंबा,
सारा सदस्यले मनोमानी दाइँ गर्दा पनि नभाँचिने कस्तो मियो हो त्यो।
हे घरका छत,
सारा बिघ्न स्वयम ढाकी सबैलाई सुरक्षा दिन सक्ने कस्तो क्षमता हो त्यो,
हे घरका आशाविन्दु,
कर्तव्यपालन र सँगै माया पनि दिन सक्ने कस्तो ममता हो त्यो।
म लड्दा तपाईलाई दुख्छ कसरी
मैले परिक्षा पास गरेर तपाईंको हुन्छ के उन्नती
म हाँस्दा तपाईंको पीडा समेत लुक्छ कसरी,
मेरो नाम चल्दा तपाईंको बढ्छ कुन संपत्ति।
म त कुनै कार्यकारण भेट्दिनँ त।
आफ्नो सुख भन्दा मेरो सुखमा अझ सुखी हुने यो नियम कुन चाहिँ सिदधान्तमा आधारित छ?
मेरो दुःखलाई मैलभन्दा बढी आफ्नो मान्ने भावना कुन नियमसँग संबन्धित छ?
मैले मलाई नै वाक्क लाग्ने गरी प्रश्न गर्दा पनि तपाईलाई उत्तर दिन वाक्क नलाग्नुको कारण पनि जान्न मन छ मलाई,
म गल्ती गरेर गल्दा पनि क्षमा गरेर नगल्ने त्यो माफीको मुल जान्न मन छ मलाई।
मलाई साँचो बताउनुस् त,
नसुध्रिने गरी बिग्रिसकेको पुत्माथि आश गर्ने तपाई आशावादी कि मूर्ख,
तपाईका थोरै गाली, धेरै माया,
थोरै पिटाई, धेरै चाह,
थोरै कठोरता, धेरै कोमलता
थोरै रोष अनि धेरै करुणा
यिनै दबाइले मेरा सारा रोग निको पार्छु भन्ने सोच साहस हो की मूर्खता?
म सोच्छु,
घरमा म र मेरी दिदीका लागि कहिल्यै किन केही पनि सकिएन?
घरमा मातापिताले केही महिना खान चामल नपाउँदा पनि हामीले कलम र कापी कसरी पाइरह्यौं?
टालिएका अनेक रंगी कपडा लगाउनेले हाम्रालागि सदा सादा सफा कपडा कहाँबाट ल्याए होलान्?
बजारबाट फर्किँदा म छुर्पीको आश गरिरहेको हुन्छु भन्ने आफै कसरी पत्तो पाए होलान्?
मलाई आश्चर्य अनि खेद लाग्छ कहिलेकाहिँ
पिता देखेर अनि सोही तुलामा आफूलाई तुलेर।
जाबो दश किताबले भरिएको करिब चार किलोको झोला बोकेर स्कूल जाँदा समेत म
सदा भारी निकै भारी भो भनेर गनगन गरिरहन्छु।
गम खान्छु
किन सिक्न सकेन मेरा काँधले पिताका त्यी काँधबाट
जो कर्तव्यको अविराम बोझ उठाउँदा पनि निर्बोझ नै रहिरहन्छ,
किन सिक्न सकिनँ होला मैले त्यो महान मुहारबाट
जो निरन्तर भार उठाउँदा पनि आभार नै देखिइरहन्छ।
किन सिक्न सकिनँ होला त्यो यन्त्रजस्तो शरीरबाट
जो थकित भइसक्दा पनि अथक परिश्रम गर्न छोड्दैन।
म आफैं देखेर पनि चकित हुन्छु,
मेरा पिता न प्रहरी हुन्, न नेता,
तर उनैको हात पकडेर हिँड्दा म संसारकै सुरक्षित किन हुन्छु,
उहाँको अगाडी पर्दा डराउने म
साँझमा घर आउन ढिलो गर्नुहुँदा किन यतीबिघ्न आत्तिन्छु।
न मेरा पिता विशेषज्ञ हुन्, न त्यस्तो खास ज्ञानवान,
तैपनि सर्वज्ञ मानी सारा सवाल किन उनैसमक्ष राख्दछु?
न पिता कुबेर हुन्, न महादेव नै,
तैपनि जे चाहिएपनि किन उनैसँग माग्दछु?
हे परिवारका भागिरथ,
हे हाम्रा सारथी,
तपाईले चुकाएको मूल्यको बदला चुकाउन त म
सदा चुकिरहनेछु,
यसर्थ माग्ने बानी परेको म दिने बानी परेको तपाईसँग पुनः एउटा थप कुरा माग्दै छु
सधैँ आशिर्वादका लागि उठ्ने तपाईका यी हातहरू आझ अभिशाप दिनका लागि पनि उठून्
तमाम पुत्रलाई यही महान अभिशापले सुशोभित गरिदिनुहोस् की
पितालाई नाघी, लत्याई अनि छोडी
जान सकिने मार्गहरू,
पाउन सकिने सफलताहरू,
जित्न सकिने खेलहरू
र लिन सकिने ज्ञानहरू
आजैबाट सदाक लागि बन्द होऊन्।
You May Also Like:
बुबा, डर ,पढाइ र पूजापाठ ! | लेख | जागृत भट्टराई | [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com