अपांगता
अपांगता र अपांगताबाट गुज्रिरहेका मानिसहरूको चुनौती उनीहरूको शारिरिक या मानसिक कठिनाई भन्दा पनि सामाजिक एवं समाजका अन्य संबन्धित विविध पक्षबाट गरिने व्यवहार, हेरिने दृष्टी तथा व्याप्त समझ रहेको देखिन्छ।
अपांगताप्रतिको स्वस्थ, सहज र धरातलिय नजर समाजले इतिहासको कालखण्डदेखि नै छुटाउँदै आएको विषय हो। यसप्रतिको जागरूकता स्थूल तहमा समेत निकै कमजोर रहेको पाइन्छ भने सूक्ष्मतम आयामहरू त छाँयामा पर्नु आश्चर्य नहोला।
समाजको सहज ग्रहणशिलता र स्विकारोक्तीका अभावले अपांगता एक शारिरिक या मानसिक अवस्था, जो केही आंगिक दुर्बलताको कारण उब्जिएको हुन्छ। एक सामाजिक विवेध र मनोवैज्ञानिक हिनता तथा पिछडापनको कारण बन्न पुगेको छ। यसर्थ यस चुनौतीलाई चिर्न यसको उत्खनन यसप्रतिको आधारभूत व्याख्यानबाटै गर्न आवश्यक देखिन्छ।
सामान्यतः आंगिक क्षतिका उपज कार्यगत सिमितता (फङशनल इंप्यरमेण्ट) र वातावरणिय अवरोध (एन्वारन्मेन्टल बेरियर) बराबर अपांगता हो भन्ने बुझिन्छ। अर्थात मन या शरीरको अंगमा रहेको कमजोरी (क्षति) जसलाई आधार बनाएर सामाजिक या परिवेशिय अवरोध वा विवेध भएको हुन्छ। यसै स्थिती अपांगता हो।
मानवसमाजले अपांगता पूर्ण अर्थको यो दोश्रो आयामलाई उपेक्षा गरी यसलाई सामाजिक विवेधका कारण उत्पन्न अप्ठ्यारो नदेखि स्वभाविक कार्यकारणको रूपमा अर्थ्याएको देखिन्छ। अझ सुस्पष्ट गर्दा, पोलियोका कारण दुर्बल भएको गोडा या कुनै कारणवश काटिएको गोडा फङशनल इंप्यरमेण्टको कारण हो भने यस अवस्थामा उक्त व्यक्तिको सहज आवागमनकालागि आवश्यक ह्वील च्येर गुड्ने सहज मार्ग नहुनु एन्वारन्मेन्टल अब्स्ट्रक्शन हो, जुन नित्तान्त राज्य, समाजको सबै नागरिकप्रतिको व्यवहारिक एकरूपता, सहस्विकारको कमी हो।
साथै यस घटना या अवस्थाको उपज उक्त व्यक्तिलाई सामाजिक वा पारिवारिक तहमा गरिने विवेध या भनौं परिवारको बोझ, सम्पूर्ण रूपमा अक्षम भनी ठहर गर्नु चाहिँ दृष्टीगत दोष हो जो वातावरणीय अवरोधको अर्को पक्ष्य हो।
अपांगता र अपांगता भएका व्यक्तिहरूको सामाजिक र व्यवहारिक चुनौती विगतदेखि आजपर्यन्त कायमै रहेको पाइन्छ। यसमा समयानुसार बद्लाव र केही उत्थान भएका भने होइनन्। तर दृष्टिकोणलाई प्रभावित गर्ने साथै दृष्टिकोणमा आधारित रहने ‘व्यवहार’ मा विवेध या असमानता भने रहीआएको पाइन्छ।
सामान्य दिनानुदिनका घटनाक्रम र कार्यका बारेमा आम समाजले गर्ने विशलेषण र मूल्यांकन यस अन्याय जनाउन पर्याप्त होला। अर्थ, समाज, राजनिती, शिक्षा, स्वास्थ्य जस्ता मानवजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अपांगताकै कारण वञ्चित गराइनु, उपेक्षा या अवमूल्यन गरिनु त देखिने कुरा नै हो। तर दैनिक अन्तर्क्रियाका क्रममा अनुभव गरिने असंवेदनशिल टिप्पणी र विवेधकारी विचारले न केवल सामाजिक उत्तरदायित्वको उपहास गरेको छ, यसका कारण कतिपय अपांगता भएका व्यक्तिहरू हिनताले ग्रसित हुने, आत्मविश्वासमा ह्रास महसुस गर्ने र अवरोधका कारण चालेका कदमबाट पछि हट्नुपर्ने विवशता झेलिरहेका हुन्छन्।
“नदेख्नेले भातखाँदा नाकमा छिर्दैन?”, “हिँड्नै नसक्नेलाई के के न गर्छु भन्ने जोस! कठै!”, “बुद्धी, दिमाग नै बिग्रिपछि त जीवन नै सकिहाल्यो नि।” जस्ता अभिव्यक्तिहरू अपांगता भएका व्यक्तीहरूकालागि नयाँ वा नसुनेको कुरा होइन। “विचरा!” भन्ने शब्दबिना त कमै मानिसको विचार या व्यवहार अघि बढेको हुन्छ जब उनीहरू अपांगता भएका व्यक्तीहरूसित अन्तर्क्रिया गर्दछन्।
साथै यसको अर्को आयाम जो वास्तवमा त्यही दया र उपेक्षाको उल्टिएको रूप हो, यस्तो व्यवहार तथा विचारले अनावश्यक रूपमा कुनै साधारण कला, आद्दत र लक्षणलाई अतिरन्जित या महिमामण्डन गरिदिने परिपाटी पनि पाइन्छ। कसैको मोबाइल नंबर याद गर्दैमा एक जना दृष्टिबिहिन व्यक्तिलाई अद्भूत ट्यालेन्ट भनिदिने, केबल श्रवणसंबन्धी अपांगता भएको र अन्य समस्त कृयाकलाप सामान्य भएको बहिरा व्यक्तिलाई अति चलाख देख्ने नजर पनि विवेधकै पोषक हो भन्दा अतिसंयोक्त नहोला।
यसो भनिरहँदा यस अतिवादी वा निम्नवादी सोच र व्यवहारमा पनि समयसँगै केही पनि विकास नभएको भने भन्न मिल्दैन। पहिला हरेक घटना र कार्यलाई अपांगताका बावजुद भनेर बुझ्ने समाज अचेल अपांगतासँग गैरसंबन्धित विषयलाई अनावश्यक रूप तथा स्थानमा ल्याई अपमान गर्न अलिक हिचकिचाउन थालेको छ।
यसका कारण दया र हेयदृष्टीमा कमी तथा अपांगता भएका व्यक्तिहरूको सहज मानिसको रूपमा सहअस्तित्वको सहस्विकारमा पनि वृद्धी भएको देखिन्छ।
विशेषतः अपांगताका भएका व्यक्तिप्रति संवेदनशील, अभियनका बारे जागरुक तथा उनीहरूको क्षमतालाई आफ्नै अनुभवबाट पहिचान गर्न थालेपछि मानिसहरूको व्यवहारिक विवेधमा केही सुधार भने देखिएको पनि छ।
अपांगताप्रतिको समग्र समाजिक नजर तथा व्यवहारलाई अझ फराकिलो हिसाबले मनन गर्दा यसप्रतिको आधारभूत धारणाको विकासक्रमलाई पनि उल्लेख गरिनु सान्दर्भिक हुन आउला। अपांगताको स्थितिलाई बुझिने, परिभाषित गरिने या अर्थ्याउने शैलीबाट विभिन्न कालक्रममा अपांगतालाई नियालिएको ढंग बुझ्न सकिएला।
अपांगता सशक्तिकरण, विकास तथा उत्थानको अभियानपस्चात विविध शब्दावलीहरू यस अवस्थालाई जनाउन प्रयोग भएका छन्। फरक-फरक प्रकृतिका अपांगतामा प्रयोग भएका र समयक्रममा परिमार्जित हुँदै आएका शब्दहरू त संख्यात्मक हिसाबले अधिक् नै छन् तर समग्र अपांगतालाई जनाउन प्रयुक्त शब्दमा चाहिँ तीन मुख्य परिभाषा जनाउने शब्दावली भेटिन्छन्।
सुरूमा ‘अपांग’ (डिसेबल्ड्) भन्ने पद प्रयोग गरी व्यक्तिको सम्पूर्ण पहिचानलाई नै उसको आंगिक क्षति या मानसिक जटिलतासँग जोडेर हेरिन्थ्यो। यसमा व्यक्ति एक मानवको रूपमा या सामाजिक हिस्साको रूपमा भन्दा पनि एक शारिरिक या मानसिक कठिनाईका आधारमा वर्गिकृत वा परिचित हुन्थ्यो।
यस अन्यायपूर्ण शब्दावलीको स्थानान्तरण गरी स्थापित नयाँ संबोधन र पहिचान पनि कालान्तरमा समस्याग्रस्त र कदाचित अझ कपटपूर्ण रहेको विशलेषण गरियो। ‘फरक रूपले सक्षम (डिफ़्रेन्ट्ली एबल)’ शब्दले अपांगता भएका व्यक्तिहरूलाई अझ गौरव र सम्मान प्रदान गरेको ठानिएकोमा यस ‘फरक’ शब्दभित्रको अव्यवहारिकता चिन्न अलिक समय नलागेको भने होइन।
उक्त शब्दले केबल अपांगतालाई एउटा सुन्दर खोलबाट पन्छाउने काम गरेन, यसबाट समाजमा व्याप्त अर्को अतिवादी विचार तथा व्यवहार जसले अपांगताभएका व्यक्तिहरूलाई दया र सान्त्वनाको दृष्टिले हेर्दथे, उनीहरूकालागि एउटा अवसर समेत सृजना गरिदियो।
यस अतिप्रशंसा वा महिमामण्डन केबल गरीवकालागि इतिहासमा उपयोग गरिएको ‘दरिद्रनारायण” र दलितकालागि प्रयोग गरिएको ‘हरिजन’ भन्दा फरक सिद्ध भएन।
यसर्थ समयसँगैको सचेतनाका उपज वर्तमानमा अवलम्बित परिभाषा या परिचय अहिलेसम्ममा ज्यादा सत्यको नजिक र तथ्यपरक देखिन्छ। ‘अपांगता भएका व्यक्ति (पर्सन्स विथ़ डिसेबिलिटीज़)’ भनेर चिनाउँदा वा चिनिँदा उक्त व्यक्ति प्रधानतः एक व्यक्ति (मानव, सामाजिक हिस्सा) हुन आउँछ र अपांगता उसको एक शारीरिक या मानसिक अवस्था। हाल प्रयोगमा रहेको यस परिचय भने अपांगता भएका व्यक्तिहरूकालागि एक अतिरन्जना तथा अतिव्याख्यानबाट मुक्त र उनीहरूको सहअस्तित्व, सहभागिताको स्विकारतर्फ उन्मुख देखिन्छ। तर व्यवहारिक वाधाहरू र व्यवहारिक तलमा हुँदै आएका र हुन बाँकी विकास, नीति तथा प्रावधानगत अवरोध एवं यसमा भएका र हुनुपर्ने संभावित सुधार पनि बुझ्न आवश्यक देखिन्छ।
हेर्ने विकास क्रममा माथि उल्लेख गरिएजस्तै सबै भन्दा कान्छो अवधारणा ‘अपांगता भएको व्यक्ति’ भन्ने हो। यस परिभाषाले व्यक्ति एउटा स्वाभिमान सहितको स्वतन्त्र सामाजिक प्राणी हो र अपांगता उसको नितान्त शारीरिक एवं मानसिक अवस्था मात्र हो भन्नेतर्फ इंगित गर्दछ।
यो कान्छो अवधारणाले अपांगता आन्दोलनलाई मानव अधिकारको संघर्षको रूपमा अर्थ्यायो, जसलेगर्दा अपांगता भएका व्यक्तिहरूले पाउनुपर्ने अधिकार पनि मानव अधिकार हो भनी स्वीकार गरियो। सन १९४८ मै विश्वव्यापी मानव अधिकारको घोषणा पत्र देशहरूले संयुक्त रूपमा अंगिकार गरेका थिए।
तर समाजको एउटा कमजोर वर्गलाई नजर अन्दाज गरिँदा सन १९४८ मै दस्तावेजीकरण गरिएको अवधारणा अपांगता भएका व्यक्तिहरूको पहुँचमा आउन या उनीहरूको आवाज र अधिकार समेटिएको दस्तावेजको आकारमा घोषणा गरिन करीब ५८ वर्ष लाग्यो, जुन सन् २००६ मा युनाइटेड नेशन कन्वेन्शन अन द राइट्स् अफ़ पर्सन विथ़ डिसेबिलिटी, UNCRPD’ भन्ने अन्तराष्ट्रिय महासन्धीबाट सुनिस्चित गरियो।
उक्त दस्तावेजले अन्य मानव अधिकारको दस्तावेजले जस्तै व्यक्तिको समानता, स्वतन्त्रता, अविभेद एवं सम्मानित भएर बाँच्न पाउने मानव अधिकारको आधारभुत सिद्धान्तलाई सुनिश्चित गर्यो।
सिआरपीडी लाई नेपालले सन २०१०मा अनुमोदन गर्यो। उक्त महासन्धीको धाराहरूले हरेक अपांगता भएको व्यक्तिको लैंगिक समान्ता एवं अविभेद, समग्र पौंच युक्तता, जीवनको अधिकार, समान कानूनी अधिकार, राष्ट्रियता एवं नागरिकताको अधिकार, निःशुल्क शिक्षा, रोजगार_सोरोजगार, समानअनुपातमा राजनैतिक अधिकार र आदिइत्यादि प्रवन्ध गरेको छ।
लैंगिक रूपमा कोही पनि विभेदमा नपरून्, हरेक सम्रचना परिवेश एवं सार्वजनिक कार्यलयहरु पौंच युक्तता हुनुपर्ने, मानव अधिकारको अति आधारभूत जीवनको अधिकारलाई सैद्धान्तिकरण गरेको छ। त्यसैगरी कानूनको अगाडि सबै समान्, न्यायमा पौँच, राष्ट्रियता नागरिकता, रोजगार एवं नःशुल्क शिक्षालाई सुनिश्चित गरेको छ। तर यस महासन्धीको सर्वस्वीकार्यता तथा अझ यसको राज्यगत तहमा व्यवहारिक अवलंबन भने विद्यमान चुनौती छँदै छ।
अतः विकासक्रमको खुड्किलोमा मन्द रूपमा भएपनि अपांगता र यसका सर्वांगिण आयामहरूले गतिशिलता पाउँदै गरेको सुखद यथार्थका बीच मूर्त समस्या, वास्तविक खाडल र कायम दुरी पनि अझै निकै रहेको पाइन्छ। यस प्रवाहमा यात्रा केही अगाडि बढेतापनि समय, स्थान र परिवेशलाई धार मान्दा दृष्टिकोण, व्यवहार, तथा प्रावधान एवं तीनको कार्यन्वयनको मार्ग भने अझै सपाट र पर्याप्त छैन।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com