ऊ हुनुको महिमा
प्रिय मान्छे,
केही प्रश्न तिमीलाई,
कसैको साथ यति मीठो किन लाग्छ,
समाइएका कुनै हात यति प्यारो किन लाग्छ,
कुनै पल लम्बाइरहने अप्राकृतिक आकांक्षा किन राख्छ मान्छे,
कसैको सामिप्य मा संपूर्णता कसरी पाउँछ मान्छे।
होस्, आफूले नजानेको प्रश्न तिमीलाई पनि के सोध्नु है,
आखिर किन तड्पिएको भनेर त मन आफैलाई थाहा हुनुपर्ने हो नि,
हो त, किन धड्किएको भनेर पनि त मुटु आफैलाई थाहा हुनु पर्ने हो।
सँगसाथ नदि नाउ संयोग जस्तै हुन् रे,
जो आए, भोलि छोडी पनि जान्छन् रे,
तर किन कुनै विशेष घाट विशेष नाउँलाई आफैसँग बाँधिरहन चाहन्छ होला नि !
किन कुनै मान्छे अर्को खास मान्छेलाई आफैमा अल्झाइरहन चाहन्छ होला नि?
छोडौँ यी कुरा,
धरातलको किरोले आकाशको वर्णन गरेको सुहाएन।
धरातल बाटै चाहिँ भन्दा तिमीसँगका ती पलले दिलमा हलचल मच्चाउदै झलमल बनाएको चाहि अवश्य नै हो,
जमिनको कुरै गर्दा चाहि , तिम्रो उपस्थितिले परिस्थिति र मनस्थिति मधुर बनाएकै हो।
यो मनको मूर्खता हेर न,
तिमीलाई बस बिसौनीमा बस चढाउन जाँदा बस पनि मेरै वशमा रहेर अलिक ढिलो आओस् झैँ हुन्छ,
मःम पसलको भाइले “दाइ केही बेर लाग्छ है” भन्दा सधैँ अधिर हुने मन भित्रभित्रै सहर्ष हस भन्छ,
चाहे चिया पसलमा होस्, या पानीपुरी स्टलमा,
बस्दा कुनै हलमा होस् या हिँडेको कुनै पलमा,
खाली काम सक्न उद्यलित लक्ष्यमुखी मेरो मन
प्रकृया मै रमाइरहन्छ,
तिमीसँगको त्यो समय नसकियोस् भन्छ
अनि मूर्ख हरेक क्षण समाइरहन्छ।
जान्दिन तिम्रो के पो राम्रो हो, तिमी चाहि अवश्य राम्री हौ,
थाहा छैन तिम्रो के प्यारो लाग्छ, तिमी चाहि निश्चय प्यारी छ्यौ,
उसको के मन पर्छ भनि सोध्नेलाई म कसरी सम्झाऊँ
कि म उसको हैन ऊ चाहान्छु भनेर,
उसको साथ मै तृप्ती छ भनि कसरी बुझाऊँ
र त म उसकै संघमा सदा रहन्छु भनेर।
अव्यवहारिक, अवैज्ञानिक र मूर्ख नै सही,
त्यी हात पकड्दै मिलौँ यात्रा पैदल गरिदिन्छु झैँ फुर्ती गर्छ मन,
तिमी छेउमा नै बस्यौ भने रंगिन भइदिइ रहन्छु भन्छ जीवन,
जब छुट्टिन्छ्यौ, हरेक पललाई जोडले पकड्छ मन अंगालिरहन्छ,
प्रत्येक प्रेमिल क्षण मनालयमा संगालिरहन्छ,
कत्रो अनि कति सान्दार तिम्रो प्रवेश सबलाई पछी धकेलिदिने,
मानौं तिमी नै हौ सब थोक झैँ यो दिल समेटी लिने,
जब आउँछ छुट्टिने बेला मन चाहिँ सँगै हरेर लाने,
आफू जाँदा खै कुन्नि किन हो विरह चाहिँ छोडेर जाने।
खै कुन्नी कतिन्जेल मन अघि बढिरहन्छ,
यो प्रेम या पागलपनको खुड्किला चढिरहन्छ,
यो एकोहोरो एकनासे एकताको रहर,
केही मीठास र केही व्यथाको रहर,
मन्जिल प्रति मन वेपर्वाह भइरहँदा,
दिनानुदिन आफ्नोपनको चाह भइरहँदा,
यो सफ़र निरन्तर गरिरहन पाऊँ,
तिमी लिऊ , नलिऊ माया भरिरहन पाऊँ,।
You may also like:
पिता । कविता | Krishna Dahal [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

