आमा र छोरा | कथा | Rabindra Lamichhane

आज भन्दा ठीक २ दसक अघि जेष्ठ २५ गतेको दिन मलाई मेरी आमाले  हामी तीन सन्तानमध्य कान्छो सन्तानको रुपमा जन्म दिएको दिन हो  ।

‘हजारौं बाधासँग जुधेर एक दिन,

आमाको कोखबाट बाहिर निस्किएको दिन

आज विशेष मेरो शुभ जन्मदिन

वसन्त ॠतुको आगमनसँगै

मेरो जीवनले पालुवा फेरेको दिन

आज विशेष मेरो शुभ जन्मदिन

 

, आमा र नाभीलाई छुट्याएर नाभी गाडेको दिन

आज विशेष मेरो शुभ जन्मदिन

आमाले मलाई अनि

मैले धर्तीलाई उपहार पाएको दिन

आज विशेष मेरो  शुभ जन्मदिन !!!’

 

मलाई जन्म दिने बेला मेरी आमाले मलाई घरको खुड्किलामा जन्म दिएको रे। कुनै रात आमाका आँखामा निद्रा नपरेको बेला  मेरो जन्मको कथा सुनाउथिन् ।

भन्थिन्, “बाबु ! तलाई जन्म दिने त्यो दिन म मेलापात मै व्यस्त थिएँ । अपराह्न त्यस्तै ४ बजेको हुँदो हो, मलाई एकदमै असहज भयो र म मेला छोडेर घरतिर लागे, घर त पुगेँ तर बिस्तरामा पुग्न नपाउँदै, खुड्किला उक्लिदा उक्लिदै बेहोसीमा तलाई त्यही जन्म दिन पुगेछु । धन्न बाचेछस् । जन्मपछि धेरै जना भेला भएछन् । मलाई व्यथाले च्याप्दा गाउँका सबै जना आफ्नै मेलापातमा व्यस्त थिए । यदि मेलापातमा नजाने हो भने बिहान बेलुकीको छाक टार्न धौ-धौ हुने भएकोले मेलापात गर्नु जरुरी हुन्थ्यो । लोग्नेमान्छे प्राय सबै पर्देसिन्थे । तेरो बुवा पनि त पेट्मा छँदा पर्देसी हुनु भएको थियो, त्यसैले घरमा मलाई सघाउने कोहि थिएनन् ।

बिहान बेलुकाको छाक टार्न दैनिक आफै तल्लीन हुनपर्थो । तलाई पेट्मा छदैदेखि जन्म पछि, एकदमै दुःखकष्टमा हुर्केकाएको हुँ बाबु” भनेर मलाई मेरी आमाले सुनाउथिन।

र, जब आमाका कुरा सुन्थेँ, मेरो पनि मनमा धेरै प्रस्नहरुको बिस्कुन दिमागमा बिछ्याइएको हुन्थेँ । सोच्थेँ, “हुन त सबैको आमा महान नै हुन्छिन् तर जब-जब मेरी आमाको यस्तो…संघर्षको कुराहरु सुन्छु अनि लाग्छ ती महान आमाहरुमध्य मेरी आमा विशेष छिन्।”

मेरी आमाले मलाई जन्मनु अघि र पछि हुर्काउनको लागि धेरै संघर्ष गर्नुभयो तर आज छोरो हुर्केपछि पनि उस्तै दुःख गरिरहेको देख्छु । बिहान-बेलुकाको छाक टार्नको लागि  ।

त्यसैले होला आज पनि,  मेरा आँखाले देख्न र मस्तिष्कले सजिलै छुटाउन सक्ने गरी, आमा तिमीले मलाई संघर्षको अध्याय पल्टाइ-पल्टाइ मज्जाले सिकाएकी छौ।

 

दु:खका दिनहरुमा संघर्ष गर्दै अनिद्रा कयौँ रातहरु बिताएकी पनि छौ । तर  छोराको रातका निद्रा नबिथोलियोस् भनेर लाखौँको खाट, त्यस माथि ५ इन्चको डस्ना, डस्ना माथि तन्न, तन्ना माथि म र ममाथि न्यानो सिरकले मेरो शरीर ढाकी सुताई दिन्थियौँ । ताकी छोराले देखेको सपनी बिचैमा नटुटोस् भनेर । अनि म मस्त निद्रामा पर्थे र मिठो सपनाहरूमा रमाउन थाल्थे । जब बिहानी हुन्थ्यो, आमा तिमी संघर्षको मैदानमा मेरो भविष्य र खुसी खोज्न  उत्रिसकेकी हुन्थ्यौँ ।

मलाई  थाहा छ आमा तिमीले गरेका हरेक दुःख मेरो भविष्य र सपनाको लागि हो भनेर । त्यसैले त हात र खुट्टाका कुर्कुचा पट्पट्टी फुट्दा पनि मलम किनेर लगाउने  फुर्सद हुँदैन थियो ।

तिम्रा हरेक दुःखलाई म सानै उमेरदेखि  नियालेर,  ती ओछ्यानमा मीठो निन्द्र देख्नु बाहेक मसँग कुनै बिकल्प थिएन । तर आज ती तिम्रो दुःख देख्दादेख्दै अनि सपनाहरु देख्दादेख्दै मैले पनि बिहानीसँग उमेर ढाल्दै  निकै वसन्त पार गरिसकेछु । त्यसैले मेरो मस्तिष्कमा टन्न प्रश्न थुप्रिन थालेका छन् ।

 

आमा तिमीले मलाई पहिलेकै रात जस्तै न्यानो सिरकले लुकाएर मलाई सुताइ दिए पनि अब तिम्रो संघर्ष अनि हातखुट्टाका कुर्कुचाले मलाई पटक्कै निद्रा लाग्न दिएका छैनन् ।

त्यसैले तिम्रो हात खुट्टाको कुर्कुचामा मलम लगाउने सपना, ननिदाई देख्न थालेको छु र अनिद्रा रातहरु बिताउन थालेको छु। संघर्षको मैदानमा उत्रिएर बिरानो मुलुकमा आइपुगेको छु । साच्चिकै नमज्जा हुँदो रहेछ आमा…संघर्षको भुमरी र छालहरुमा तैरिदा, अनि सोच्न बाध्य आमा ! कसरी बितायौ हौली है धेरै वसन्तसम्म यहि छोराको भविष्य र खुसीको लागि संघर्ष गर्दै? आज म तिम्रो खुसी र मेरो  भविष्य खोज्दा थोरै वसन्त पार गर्न नपाउँदै थलिएको छु र  हजारौं हजार यादका बिस्कुन हाल्दै  त्यही खाटमाथि बिछ्याइएको डस्नाको  याद गर्दैछु ।

 

जब म कालो म्याटमाथि आफ्नो शरीर विछ्याइरहेको हुन्छु, याद गरिरहेको हुन्छु ती पुराना सुखका दिनहरुको । याद गरिरहेको हुन्छु  सिरकको,  जब म एउटा पातलो तन्ना ओढेर मेरो शरीरलाई न्यानो बनाउने कोशिसमा हुन्छु । अनि याद आउँछ आमा त्यो सिरानीको, जब म आफ्नै पाउको जुत्तालाई सिरानी हालेर रात ढाल्ने कोसिस गर्दै हुन्छु । म सम्झिन्छु आमा, तिम्रो अनिद्रा रातहरु तिमीले संघर्ष गर्दा कसरी बितायौ होला भनेर ।

तर मज्जा पनि आउदो रहेछ आमा जब म कालो म्याटमाथि, जुत्ता सिरानी हालेर पातलो तन्नाले शरीर ढाकेर टोलाउदा टोलाउदै निदाएर सपना देख्दाको ।

अं…साच्चै नि आमा  छटपट्टी मै कुनै रात म निदाए भने नि   सपना मज्जाले देख्ने गरेको छु किनकी मलाई तिम्ले सपना देख्ने  बानी पार्दीसकेकी छौ । आमा!!

सयौं रातहरु असफलताले पकै रुवाए  मलाई पनि तर हरेक बिहानीहरुले आशाका सौगात ल्याउन छाडेका छैनन् मेरो जीवनमा । आमाले मलाई जन्म दिने बेला व्यथाले च्यप्दा-च्याप्दै खुड्किला मै जन्म दिएर होला सायद अचेल दुःख अनि उतारचढाबको खुड्किला उक्लन र ओर्लन एक्दमै सहज लाग्छ ।

त्यसैले मेरो जीवनलाई नबिथोली संघर्षको पाईलालाई निरन्तरता दिने कोशिसमा छु । र मेरी आमाको ओठमा करोडौंको मुस्कान दिने कोसिशमा छु ।

धन्यवाद छ आमा तिमीलाई…..

-Rabindra Lamichhane

 

Image by Iuliia Bondarenko

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *