“फेरि एकपटक बालक हुन पाए।”
बालापन मेरो लागि आमाको काख अनि बुवाको काँध थियो।
ती साना चम्किला आँखा सपनाहरु सजाउने संसार थियो। त्यो सानो मन, केवल माया र खुशी अटाउने ठाउँ थियो।
त्यो बालापनमा रमाइलो पलको मिठास बेग्लै थियो। शरिरमा जोस, जाँगर, उमङ्ग अनि हर्षको बतास बेतोड थियो। सायद त्यसैले होला, जिन्दगीको त्यो छोटो अवधि सबैभन्दा खास थियो।
आज त्यही सानो मनको ठूलो रहर कता गयो होला? कसरी बिलायो होला त्यो सानो सपनाले सजाएको ठूलो घर? आज कसरी भत्किए होला? सम्झँदा पनि अचम्म लाग्छ सानो छँदा को त्यो भाव आज कसरी बद्लिए होला।
बाल्यकालदेखि यो उमेर सम्मको यात्रामा सोचाइ र भोगाइहरुमा पनि कति परिवर्तन आएछन्। किन, कसरी र कहाँबाट आए होलान ती! सानो छँदा त खुशी हुन पनि केही वहाना चाहिन्न थियो। आमाको काखमा लुट्पुटिन पाए यसै खुशी भइन्थ्यो। बुवाको काँधबाट संसार हेर्न पाए आफ्नो सानो संसार त्यसै रङ्गिन्थ्यो। न केही कुराको डर थियो, न सङ्कोच नै। आमा र बुवाले दिएको साथमा नै आफ्नो संसार अडिए जस्तो लाग्थ्यो।
बालापनमा हामी सबैको मनपर्ने पात्र बन्छौँ। सबैको प्रिय हुन्छौँ। आजभोलि त्यही बालापनमा पाएको माया सम्झँदा पनि मन हर्षले उत्साहित हुन्छ। त्यही मायालाई आँखा चिम्लिएर महसुस गर्दा एउटा जिन्दगी बाँचेर आए जस्तै लाग्छ। सबैजनाको लागि हामी प्यारो हुन्थ्यौँ।
आहा! कस्तो बेला थियो त्यो!
इच्छा, आकाङ्छ्याहरु पहिले बालापनमा भन्दा अहिले निकै बद्लिएका छन् तर पनि यसले पहिले जस्तै अहिले पनि पहाडको चुचुरो छुन बिर्सेको छैन।
जति नै व्यस्त भए पनि मनमनै थुप्रै सपनाहरु बुन्न छोडेका छैन। कति बद्लिएछ समय, कति बद्लिएछौँ हामी तर कति उस्तै लाग्दो रहेछ यो सम्बन्ध, यो माया अनि आफ्नै नयनमा सजाएर राखेको सपना। आफ्नै मनभित्र गुम्सिएर बसेका भावनाका पोका। कति उस्तै लाग्दो रहेछ साना साना पलहरुमै खुशी हुन चाहने यो तृष्णा, कति उस्तै लाग्दो रहेछ खुशी खोज्दै अघि बढिरहेको समय। कति उस्तै लाग्दो रहेछ त्यो सानो हुँदाको चंचलता र उत्सुकता।
बद्लिएको समयले हामीमा जति नै परिवर्तन लिएर आए पनि बाल्यकालको सम्झना भने प्रायः सबैलाई प्रिय लाग्दो रहेछ। मलाई हाम्रो आमाहरुको बाल्यकालको किस्सा सुन्दा एउटा किताब भित्रको कहानी सुने जस्तै लाग्छ।
आमाहरुले बाल्यकालमा बिताएका समयलाई केवल मन अनि मस्तिष्कमा केलाउन मिल्थ्यो तर हाम्रो बाल्यकालका यादहरुलाई त क्यामरामा कैद गरेर सजाउन मिल्छ। कति भाग्यमानी रहेछौँ हामी। आफ्नो बाल्यकाल सम्झँदा पनि मलाई एक सपना जस्तै लाग्छ।
समय बद्लिँदै जाँदा, क्यामराले कैद गरिएका तस्विरहरुलाई एल्बममा पल्टाएर हेर्दा एक एक पलहरुलाई पल्टाए जस्तै लाग्दो रहेछ। जब जब एल्बमका पन्ना पल्टिँदै जान्छ्न् तब-तब जीवन ढल्किँदै गएको महसुस हुँदै जाँदो रहेछ।
तर पनि निकै मीठो लाग्दो रहेछ त्यो क्षण। फोटो भित्रको पुरानो आफूलाई देख्दा आफैसँग प्रत्यक्ष भेट भएजस्तो लाग्दो रहेछ। खुलेर केही कुराहरु साँटासाँट गर्न मनलाग्दो रहेछ। आफैले आफैलाफ अङ्गाल्न मनलाग्दो रहेछ। आफ्नो बाल्यकाल सम्झँदा मनबाटै मुस्कुराउन मनलाग्दो रहेछ।
फेरि एकपटक बालक हुने रहरले झक्झ्क्याउँदो रहेछ। त्यही बालापनमा फर्केर फेरि केही मीठा पल जिउने सोच गडेर बस्दो रहेछ। कास मिल्ने भए, म फेरि एकपटक बालक हुने थिएँ, फर्केर केही यादहरु समेटेर आउने थिए।
तर सोचेजस्तो कहाँ हुन्छ र?
समयमा अल्झिएको र समयले अल्झाएको समयमा चाहेर पनि कुनै समयमा फेरि फर्केर जान नमिल्दो रहेछ। बितेर गएको ती पलहरु जति केलायो उति रमाइलो लाग्दो रहेछ, जति धेरै यादका पोकाहरु खोल्यो उति धेरै आनन्द यो मनले महसुस गर्दो रहेछ। जति धेरै प्रिय त्यो बाल्यकाल थियो त्यति नै बढी भयानक यो यथार्थ लाग्दो रहेछ।
त्यो समय बेग्लै थियो। न केही कुराको आश थियो, न त निराशा नै। न केही कुराको चिन्ता थियो, न त पिर नै। न केहि बाध्यता थियो, न केही जिम्मेवारी नै थियो। न केही कुराको डर थियो, न त केही भ्रम। त्यति बेला यो मन सार्है शान्त थियो। मात्र चंचल थियो।
अहिले त कति उल्झनहरु सुल्झाउँदा सुल्झाउँदै दिन बित्छ। कति सपना बुन्दा बुन्दै सपना पूरा गर्ने हौसला नै रित्तिन्छ।
कति जिम्मेवारीहरु केलाउँदा केलाउँदै जिन्दगी बित्छ। यहाँ बाल्यकाल जस्तो मीठो समय त अरु कतै नहुँदो रहेछ। सायद आमाको काखमा एकपटक लुट्पुटिने मन सबैको हुन्छ होला, मनमा दबिएका भावनाहरु आँखाबाट बगाउँदै आमाकै धोतीको फेरले आँसु पुछ्ने रहर सबैको हुन्छ होला।
जिन्दगीदेखि हारेको कतिलाई बुवाको काँधमा चढेर सँसार हेर्न पाए संसार जित्ने हिम्मत फेरि निर्धक्क आउँछ होला। कास फेरि एकपटक बालक हुन पाए, फर्केर त्यही बालापनमा जान पाए जीवन साँच्चै कति सुन्दर र रङ्गिन हुन्छ होला।
यो आत्मा कति दङ्ग, अनि यो मन कति फुरुन्ङ्ग हुन्छ होला। यो समय र जिन्दगी फेरि पनि चङ्गा जस्तै कति हलुङ्गो लाग्छ होला। तर सायद चंगा जस्तो जीवन जिउन यहाँ फेरि अर्को जन्म नै कुर्नु पर्छ। फेरि बालक हुन त यहाँ अर्कै जन्मको प्रतीक्षामा जीवन जसरी पनि कटाउनु पर्छ।
यस्तै रहेछ यो बाल्यकालको कथा, यहाँ अतीत र अतितसँग गाँसिएका सम्झनालाई नै अङ्गालेर यथार्थमा जिउनु पर्दो रहेछ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com