फिक्का दसैं | सुसन चौधरी | Offline Thinker

फिक्का दसैं

यो कथा म जस्ता रामुहरूका लागि जसको दसैँ फिक्का भयो।

नाम राम कुमार तर सबैले मलाई रामु भनेर बोलाउछन्। घर सिन्धुपाल्चोक बसाइ चाँहि पोप्सिकोला, टाउन प्लानिङ नजिकै।

झण्डै दुई वर्ष अघि प्लस टु पढ्न बुवाले सहर पठाएका थिए। काठमाडौंमा नाता पर्ने काका मात्रै थिए। म उही काकासँग बस्थे। उहाँ नजिकैको ईट्टा भट्टामा काम गर्नुहुन्थ्यो।

बुवाले मलाई पढ्न भनेर पठाएका थिए। तर खर्च पनि त जुटाउनु थियो। त्यसैले केही रकम सापटी मागेर ठेला किने। बिहान कलेज पढ्थे, दिउँसोभर म त्यही ठेलामा म:म बेच्थे। यति दुःख नगरी त कसो सुख हुन्थ्यो र!

काकाको ईट्टाभट्टाबाट आएका रकम धेरै नभएपनि खान बस्न पुगिरहेकै थियो। काकालाई काम गर्न पाए पुग्ने। सधै मख्ख।

तर एक दिन उहाँको अनुहार एकदमै न्याउरो देखेँ। कामबाट फर्किएका थिए।

‘के भो काका। किन अध्यारो मुख बनाउनुभयो?’

उहाँले बोल्न पनि रूचाउनुभएन।

सानो स्वरमै जवाफ फर्काए,’खै! मास्क लगाउनुपर्ने भाइरस आछ रे। साहुले भट्टा केही महिना बन्द गर्ने भनेका छन्।’ मास्क लगाउनुपर्ने भाइरस के हो भन्ने सबैले बुझ्नुनै भयो होला। (कोरोना भाइरस)

उहाँको मन रूझाउनकै लागि मैले भने,’के भयो त हामी काका-भतिजसँगै मःम बेचौंला नि।’

दुखी आँखाभन्दा झुठो हाँसो सहि। घडीतिर हेर्दै मुसुक्क हास्नुभयो।

सायद घडीहेर्दै सोच्नुभयो होला, ‘समयले मलाई नै रहेछ साथ नदिने।’

मेरो पनि कक्षा १२ को परीक्षा नजिकिँदै थियो। ठेला चलाउन कोही खोज्दै पनि थिँए। आफ्नै काका फुर्सदिला भए।

बुवालाई खुब पढ्छु भनेर वचन दिएको थिँए। काकाले ठेला चलाउन सहयोग गर्नुभएदेखि पढ्न समय पाँए। म त्यही ठेला छेउ मेचमा बसेर किताब पढ्थे।

यसरी नै हाम्रा दिनहरू बितिरहेको थियो। काकाको ईट्टा भट्टा बन्द भएको पनि दुई साता बितिसकेको थियो। काकाको मन पनि मःम बेच्न लागिसकेको थियो। खुसी देखिनुहुन्थ्यो।

म नि छुट्टै मःम बेच्न थालु क्या भतिज भनि ठट्टा पनि गर्थे। म पनि हाँस्दै भन्थे, ‘भइहाल्छ नि।’

सबै ठिकठाक चल्दैथियो। फेरी समयले जिन्दगीमा आँखा लगाइदियो।

समाचार आयो- कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न देशव्यापी लकडाउन।

सरकारलाई निहुँ भयो, हामीमाथि अन्याय। आम्दानीको स्रोत नै बन्द भो।

मःम व्यापार पनि सखाप। लकडाउन भन्ने शब्द त काकाले कहिल्यै सुनेका पनि रहेनछन्। मैले पनि बन्द विप्लवले मात्रै गर्छ भन्ने सोँचेको थिएँ।

बन्दाबन्दीपछि काका-भतिज कोठामै छट्पटाउन बाध्य भयौँ। परीक्षा पनि सर्‍यो। तर अकाउन्ट पढाउने मास्टरले भनेका कुरा खुबै याद आइरहन्थे।

‘जिन्दगी कहिले नाफा, कहिले घाटा हो। नाफा माने सुख, घाटा माने दुःख।’ अकाउटका मास्टरले भनेको सम्झे, ‘दुबैको समिश्रण भए लाइफ ब्यालेन्स हुन्छ।’

यी भनाइहरू मलाई जत्तिको मिल्ने मेरा साथीहरूलाई भएकी भएन होला कुन्नी। बन्दाबन्दी केही हप्ताको लागि भन्दाभन्दै चार महिना बित्यो। घरको रासन पनि सकिँदै थियो। जम्मा गरिएका रकम पनि सकिँदै थिए।

तैपनि सरकार लकडाउन खुलाउने नामै लिन्न।

चार महिनामा मैले उही अकाउन्ट मास्टरका भनाइलाई बाहेक केही सम्झिन। अब त बहालमा बस्न पनि गाह्रो भइसकेको थियो। तर घर जान पनि त सकेका थिएनौं।

घरबेटी आन्टी बहालमाग्न घरीघरी आउनुहुन्थ्यो तर भोलिमै टार्दै गयौँ। काम गरी बस्न पर्ने काका पनि काम नपाएर छट्पटिनुहुन्थ्यो।

एक दिन त अब घरबेटीकै घरमा भएको काम गर्छु भन्न थाल्नुभो। मलाई सुनाएको भोली पल्टै आन्टीलाई फकाइ सक्नुभएछ। घरबेटीले पनि लकडाउन नखुलुञ्जेलका लागि काममा लगाउन मान्नुभयो।

काकाले घरबेटीका लुगाहरूदेखि भाडा माझ्ने सबै काम गर्न थालेछन्।

तर चौथो दिन, टाउको दुख्यो भनेर काका ओछ्यानबाटै उठ्नुभएन।

तातो पानी र जाउलो खुवाएँ। साझँ ज्वरो आएछ। सिटामोल खुवाउँदै पानीपट्टी लगाइदिए।

दुईदिन सम्म पनि काममा नआएकाले घरबेटी आन्टी आफैँ काका भेट्न आए। ज्वोरो-खोकी लागि बिसन्चो भएको खबर सुन्नासाथ उहाँले पुलिसलाई पो खबर गरे। १० मिनेटमा एम्बुलेन्स आयो अनि पुसिलको भ्यान पछिपछि।

‘तिम्रो काकालाई कोभिड भएको हुनसक्छ,’ गोलो चश्मा लगाएका पुलिसले भने, ‘यो ठाँउलाई हामी तत्काल सिल गर्दैछौँ। तिमी पनि कतै नजानु। घरभित्रैबस्नु।’ उनले टाढैबाट भनेका थिए।

बाहिर लकडाउन छ कता जाने हो र। भत्भताउँदै कोठा थुने। काकाको उपचार कसले गर्दै छ, कता लगे कहि पत्तो थिएन मलाई। एक्लै बसे।

तेस्रो दिन पुलिसको दुईवटा भ्यान आयो।

‘सबै टोलै सिल गर केटा हो,’ अस्तिकै पुलिस थिए।

म नजिक गएर सोध्न खोजेको मात्रै थिएँ।

‘परै बस् रोगीका भतिज। तेरो काकालाई कोभिड पोजेटिभ आयो। आइसियुमा छन्। तँलाई नि लागेको होला,’ पुलिसले हप्काएर भने।

यो त आधुनिक छुवाछुत प्रचलन जस्तो पो लाग्यो। कोरोना लागेका तल्लो जात, नलागेका माथिल्ला। पहिला तल्लो जातकालाई छुन नहुने, नजिक जान नहुने, छोएको नचल्ने अनि सबैले हेप्ने र गाली गर्थे। अहिले कोभिड पोजेटिभ आएकाहरूलाई उस्तै व्यवहार गर्ने रहेछन्।

समाज कहाँ मोडिदैछ? आफैलाई प्रश्न गरे।

काकालाई रोग लाग्यो भने पछि मलाई नि लाग्यो होला। शङ्का हुनु  स्वभाविक थियो। भोलिपल्ट मेरो नि टेष्ट गर्न आउने रे।

आए पनि टेष्ट गर्न। नाकमा बेस्सरी एउटा सिन्काले घोचे र रिजल्ट दुई दिनमा आउछ भने। जाच्नेले पनि आफूलाई नसरोस् भनेर मुखै नदेख्ने लुगा लगाएका थिए। कोहो पनि चिनिन। पुरै शरिर सेतो कपडाले ढाकेको।

मसँगै टोलका एक सय बढीको त्यसरी नै नाकमा घुसाएर बट्टामा हालेर लगे। दुई दिन पछि रिपोर्ट आउछ भनेका थिए।

दुई दिन पछि मेरो रिपोर्ट आयो। नेगेटिभ!

ढुक्क भए तर काका आइसियुमा थिए। चिन्ताले खुसी हुन सकिन। टोलमा पनि अरु दुईजनालाई संक्रमण देखिएछ। अस्पताल लगिहाले।

काकालाई सास फेर्न निक्कै गाह्रो भएपछि आइसियुमा राखेका थिए। काका बिरामी परेको खबर घरमा पनि पुगिसकेको थियो। तर भेट्न आउन सकेका थिएनन्।

बुवाले फोनमा काँप्दै भनेका थिए, ‘केहि हुन्न छोरा। धैर्य गर। भगवान छन् नि।’

मैले हेरक दिन जसो भगवानको नाम जप्न थालेको थिए। एक मध्यराती घरबेटीको फोन आयो।

‘बाबु, तेरा काका रहेनन्। भगवानले लिएर गए।’

मनले पत्याउन चाहेन। ‘झूठो नबोल्नु। म आफै भेट्न जान्छु भोलि उनलाई’

मेरा आँखा रसाइसकेका थिए।

‘भेट्न नि निषेध गरेका छन्। अन्तिम अन्त्यष्टी पनि सेनाले गरिदिन्छ रे। आफ्नो ख्याल राख्नु।’

काकाको देहान्तको खबर सुनेर मलाई नै ज्वोरो आयो। काकाझैँ अर्को बिहानी म नि ओछ्यानको ओछ्यानै थला परे।

दसैंको मुखमा कस्तो दशा आइपरेको होला। मलाई रेखदेख गर्न नि कोहि थिएनन्। गाउँमा बुवा चिन्तिन थिए तर आउन सकेनन्। बल्लतल्ल आफैले एम्बुलेन्स बोलाए र अस्पतालमा भर्ना भए। बिरामीहरूको बीचमा झनै बिरामी हुन पुगेँ। ज्वोरोले सीमा नाघ्यो अनि लाइफ झन् घाटामा गयो।

ठेलामा म:म बेचेर आएको पैंसाले कम्तिमा पनि खसी किनेर घर लैजान्छु सोचेथे। तर कोरोनाले पैंसा पनि लगे सँगसँगै काकालाई पनि।

अहिले अस्पतालको शैय्याबाट विगतमा काका, बुबा अनि सबपरिवारसँग मनाएको दसैं सम्झिदैछु। यसपालीको फिक्का दसैं मनाइयो।

मैले फिक्का दसैँ मनाएपनि सबैलाई रामुको तर्फबाट शैय्याबाटै दसैंको शुभकामना छ है।

 

You may also like:

‘I don’t want to live’, he said, ‘Nobody cares about me.’ | Written by Susan Chaudhary

 

Read More From Susan Chaudhary

 

Also Read:

Letter To My Dear Girlfriend | Secret Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

administrator
Susan Chaudhary: founder, and writer at Offline Thinker. A good listener who loves to edit videos, travel, write, and try new hobbies.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *