गन्तव्य राजधानीको थियो। भाइटिकाको दिन। कुनै भवितव्य कारणबस टीका लगाउन नपाएको सोही दिन राजधानी जाने निर्णयले म चार बजेको नाइट बस चढेँ। यो मेरो पहिलो नाइट बसको यात्रा हो।
“ओहो! गाडी त नयाँ रहेछ।” बसको हालत देख्ने बित्तिकै व्यङ्ग्यात्मक रुपमा निस्केको प्रथम वाक्य।
हेर्दापनि “यसले राजधानी पुर्याउछ त?” भन्ने शंका जाग्ने। अझ अवलोकन गर्दा गुट्खा खाएर दाँत बिग्रेको मान्छेले अट्टहास गरेजस्तो देखेँ बसभित्र। त्यति मात्र कहाँ? बसले ब्रेक लगाउँदा प्रसव वेदनामा कराइरहेको बूढो भैंसीको जस्तो आवाज निकल्ने।
मनमा डर र शंका राखेँ अनि शरीर बसमा। यसरी सुरु भयो मेरो पहिलो नाइट बसको यात्रा।
तिहारको माहोल थियो। झलझली बलिरहेको सहरले जगमगाइरहेको तारामण्डलसँग सामिप्य गाँस्दै थियो। सौन्दर्यसँग तादाम्य गाँस्दै थिएँ बसको रेडियोमा गुन्जेका देउसीभैलोको धुनहरुले। भैलोको तालमा ताल मिलाउँदै बस भने राजमार्गको खाल्डाखुल्डीसँग कुस्ती खेल्दै अगाडी बढ्दै थियो। ती खाल्डाभन्दा स्तरीय राजमार्गका होटेलहरुको खाना। साच्चिकै साह्रै स्तरीय देशको नागरिक हौँ हामी।
नेपालको हरेक विकासले प्रकृतिसङ्ग तादाम्य गासेको छ सायद। प्रकृति र संस्कृती हरेक चिजमा प्रतिबिम्बित हुन्छ। जस्तै हाम्रा राजमार्गहरुले नागबेलीलाई प्रतिबिम्बित गर्छ। हाम्रो जीवनस्तर राजमार्गको होटेलको खानाको स्तरले।
नागबेली जस्तै बाटो अनि मेरो पेटमा सङ्ग्रहित खानाको हड्ताल अनि त्यो हडतालसँग मेरो सङघर्षको बीच निन्द्रासँग सम्बन्ध बिग्रन पुग्यो। पछाडीबाट आएको घुरिरहेको आवाज कानमा पर्यो। आफ्नो निन्द्रा बिग्रिएको दिन अरुको निन्द्रा देख्दा पनि डाहा लाग्दो हो। धन्य होस् मानव जुनी।
त्यो दिन थाहा भयो मान्छे खुसी हुन भरी पेट र मीठो निन्द्रा चाहिँदो रहेछ। यी पुगिसकेपछी मात्र अरु आवश्यकताको भान हुन्छ।
***
सायद बिहानको तीन बजेको थियो। गाडी अचानक बन्द भयो। अनि फेरि सुरु भयो हतार। हतारमा थिएँ म पनि। सपना पूरा गर्ने हतार। गन्तव्यमा पुग्ने हतार।
जीवन यात्रा रहेछ र यात्रा सिख।
जीवन हतार पनि रहेछ। सुख खोज्न मान्छे हतारमै रहन्छ। दुःखबाट टाढा भाग्न मान्छे हतारमै हुन्छ। सायद यो हतार चितामा पुग्ने हतारपनि हो।
यस्तै हतारै हतारको सहर काठमाडौ मेरो गन्तव्य थियो। आफ्नो सपनाको लागि संघर्ष गर्ने स्थान। सायद यस्तै हुन्छ सपनाको सहरसम्म पुग्ने बाटो। सपनासम्म पुग्ने बाटो भने कस्तो हुने हो?
वाइरिङ शट भाको रैछ।
गाडी स्टार्ट भयो अनि हिड्यो त्यो धैर्य गरेको समय कुल्चिएर।
एकैछिन गुडेपछी गाडी फेरि रोकियो। पिसाब फेर्नको लागि रोकेको थियो। त्यहाँ अरु गाडीहरू पनि रोकेको रहेछ। एउटा चिनेको अनुहार देखेँ। उसलाई कक्षा १० पछि देखेको थिइन। कस्तो संयोग। सायद जीवन संयोग पनि हो।
उ त कतारमा रोजगारीको लागि हिडेको रहेछ। कारण बुझ्न खोजेँ। सबैभन्दा जेहेन्दार विद्यार्थी किन विदेशिदै छ? उसले गम्भीर मुद्रामा “बाध्यता” बाहेक केही भनेन। सायद जीवन बाध्यता पनि हो।
फेरि गुड्यो बस राजमार्गसँग संघर्ष गर्दै। निन्द्रासङ्ग सम्बन्ध भने अझै सुदृढ भएन। आँखा निदाउन चाहन्थे मन असन्तुष्ट थियो। रातभर कसैसँग बोलेर बिताउँदा बैरी लाग्ने निन्द्रा आज कति प्यारो लाग्दै थियो। आएर मसँगै बसिरहोस् जस्तो लाग्यो। कुनै पनि चिज स्वार्थले गर्दा नै प्यारो हुने रहेछ।
बस कलन्की पुग्यो। आफ्नो आफ्नो ओर्लने स्थान हेर्दै यात्रुहरु ओर्लन थाले। बस बसपार्क पुग्यो।
“आबुइ! मैले त बसमा चोर पसेको सपना देखेको।” कुनै संवादको अंश कानमा पर्यो। ” मलाइ भन्नु पर्थ्यो नि म पिट्दिन्थें।” प्रत्युत्तरमा कसैले भन्यो। एउटा दबेको हाँसोको माहोल गुन्जियो गाडीभित्र।
यस्तै तीतामीठा प्रसङ्गहरु लिएर ओर्लिएँ गाडीबाट। केही सिकाइहरु बटुलेर। केही प्रश्नहरु लिएर। अनि सकियो मेरो पहिलो नाइट बस यात्रा।
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com