नेपाल विद्या; नेपाल बुझाउने पुस्तक | Book Review | सुमन भट्टराई

पुस्तक

भनिन्छ, इतिहास विगत मात्र नभएर वर्तमान पनि हो र भविष्यको मार्गनिर्देशक। त्यसैले कुनै पनि देशको वर्तमान बुझ्नका  लागि, त्यस देशको विगत बुझ्नु आवश्यक छ ।

केदार वशिष्ठको पुस्तक “नेपाल विद्या” ले नेपालको इतिहासलाई नजिकबाट नियालेर बुझ्ने मौका दिएको छ । इतिहासको अध्ययनबाट अनेकन ज्ञान दिएको छ ।

वर्तमानमा जिम्मेवारीको बोध गराएको छ । र भविष्यका लागि स्पष्ट मार्ग निर्देश गरेको छ ।

लेखकले नेपालको इतिहासमा उल्झिएका गाठाहरु फुकाइदिएका छन्। थुप्रै अनुत्तरित प्रशनहरुको तर्कसंगत उत्तर दिएका छन् । इतिहास पठन र लेखनको बाटोमा थुप्रिएका काँडाहरु हटाइदिएका छन् । थप इतिहास बुझनका लागि लेखकले बाटो खोलिदिएका छन् ।

नेपालको इतिहास पश्चिमाले लेखिदिएका छन् । हाम्रो पहिचान, संस्कृति, भाषा, जीवनशौलीका आधारमा विदेशी विद्वानहरुले धेरै लेख, मान्यता र भाष्य निर्माण गरेका छन् । तर ती अधिकांश प्रायोजन परक थिए । कतै न कतै स्वार्थ निर्हित थिए ।

त्यसैले मौलिक तहबाट देशको इतिहास अध्ययन गर्न लेखकले पहल गरेका छन् । पुस्तकले गौतम बुद्धको जन्मस्थान र उनको जीवनसङ्ग हुने गरेका विवाद, राजनीति, व्यापार, र अनेकन जालझेलसंग जोडिएको इतिहासको खुलस्त विवरण उल्लेख गरेका छन् । केही समय यतादेखि चर्किने गरेको लुम्बिनीको विवादको जरो १९औ शताब्दीमै गाडिएको कुरा पुस्तक पढिसकेपछी थाहा हुन्छ ।

सन १८९६ मा एलेइस एन्टन फुहरर र पाल्पाका बडाहाकिम खड्ग शमशेरको सामुहिक उत्खननमा अशोक स्तम्भ र बुद्दको जन्मस्थल पत्ता लगाइएको थियो । र त्यसपछि फुहररले जीवनमा भोग्नुपरेको सास्ती र फुहररलाई गलत जनाउन लागिपरेको बेलायती विद्दानहरुको इतिहास निकै नै रोचक रहेको छ । सन १८९६ मा बुद्द नेपालको लुम्बिनीमा जन्मेको तथ्यको फुहररले उजागर गरिसकेपछी उनी र पत्ता लगाइएको लुम्बिनीलाई गलत साबित गर्न धेरै विद्दानहरु खटिएका थिए । त्यो क्रम अझै पनि जारी रहेको छ ।

लुम्बिनी आर्थिक, धार्मिक, राजनीतिक रुपमा अति महत्त्वपूर्ण स्थान रहेकाले यस विषयमा हरेक नेपाली संवेदनशिल रहनु आवश्यक छ । यसको लागि सबै नेपालीले लुम्बिनीसित जोडिएको इतिहास बुझ्नै पर्दछ ।

सो अध्ययनको लागि नेपाल विद्या महत्त्वपूर्ण र अनिवार्य दस्तावेज हो ।

त्यस्तै लेखकले पौराणिक साहित्य, विभिन्न अभिलेख, शिलालेख, र स्थानानमको गहन अध्यनबाट नेपालको ऎतिहासिक अस्तित्वको तथ्य उजागर गरेका छन् । केही समयदेखि नेपालको प्राचीन अस्तित्व काठमाडौ खाल्डोसम्म मात्र सिमित रहेको मतले राजनीतिमा व्यापक ठाउँ ओगटदै आएको छ ।

यहि मतले नेपाली समाज र वौद्धिक वर्गलाई अलग्याउने काम गर्दै आएको छ । यस गहकिलो विषयको चिरफारका लागि लेखक बौद्धिक कालमा पुगेका छन् । ॠगवेद, यजुर्वेद, सामवेद, अर्थवेदमा नेपालबारे भएको वर्णन उल्लेख गरेका छन् ।

त्यस्तै स्कन्द पुराण, पशुपति पुराण र रामायण, महाभारत जस्ता प्राचीन ग्रन्थहरुले देखाएको नेपालको व्याख्या गरेका छन् । भरतमुनिको नाट्यशास्त्र, राजशेखरको काव्यमिमान्श, श्रीहर्षको नैषधिवचरितमा, कौटिल्यको अर्थशास्त्र र अन्य प्राचीन र महत्त्वपूर्ण कृतिहरुमा नेपालको वर्णन रहेको प्रमाणिक मत पेश गरेका छन् । यसरी नेपालको अस्तित्व अति पुरानो रहेको र काठमाडौ खाल्डोमा मात्र सिमित नरहेको तथ्य पारित गरेका छन् । पुस्तकमा साबित यो तथ्य, आफैमा अति महत्त्वपूर्ण ऎतिहासिक खोज भएकाले पुस्तक अझ वजनदार बनेको छ ।

त्यस्तै केही समययता नेपालमा भाषा माथिको बहस र राजनीति व्यापक हुने गरेको छ । नेपाल जस्तो बहुभाषिक देशमा भाषा निकै संवेदनशिल विषय हो । र यसको राजनीतिक प्रयोगले समाजमा प्रतिकुल असर पार्न सक्छ । भाषाको इतिहास र यस सम्बन्धी जोडिएको अध्यन निकै कम हुने गरेको छ ।
यी अवस्थामा लेखकले नेपाली भाषाको उद्गमदेखि विकासकाल हुँदै हालको भाषिक सुसम्पन्नताको स्थितीसम्मको अध्ययन गरेका छन् ।

नेपाली भाषाको इतिहासमा निर्णायक रहस्यको उदघाटन गरेका छन् । त्यसका लागि उपत्यका भित्र र बाहिरका केही अभिलेख, लेखोट, यात्रा सस्मरण, प्राचीन बहिखाता, ल्याटिन वर्णमाला सम्बन्धि पुस्तकहरुको गहन अध्ययन अनुसन्धान गरेर प्रमाणिक तर्क दिएका  यस पुस्तकमा ।

यसरी नेपाल राज्य र नेपाली भाषाको विकास परा-पूर्वकालमा भएको सत्यता पुस्तकमा प्रमाणित छ । लेखकले भाषिक साम्राज्यवाद, नव उपनिवेश, विद्याको महत्त्व, कालिदासको जन्म सितको नेपाल साइनो जस्ता अनेकन गम्भीर विषयहरुको समेत उठान गरेका छन् । लेखकले तयार पारेको पुस्तकको लागि उनले गरेको खोज अध्ययन र मिहिनेत साच्चै सराहनीय छ ।

साथै लेखकले अनुमानमा लेखिएका प्रायोजनपरक अनेकन ऎतिहासिक तथ्यलाई विस्थापित गर्ने र सहि संशोधन गर्ने मौका दिएका छन् । मौलिक तहबाट इतिहासको अध्ययन, अनुसन्धानलाई नँया मार्ग खोलिदिएका छ्न । तसर्थ नेपाल विद्या नेपाली इतिहास लेखनमा एउटा कोसेढुङ्गा हो।

Read More From Suman:
Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.