बिहानै सूर्यभन्दा अगाडि
हामी खाटबाट उदायौँ
गन्तव्यविहिन पछ्याउदै बाटो देहातको
सहरको कोलाहल
अर्बनाईजेसनमा प्याक गरि
सहरलाई दिएर उपहार।
मात्र हरियो खेतले निर्मित हो ब्रहमाण्ड
जस्तो लाग्ने स्थानमा
चियाको तल्तल लाग्ने जिब्रोहरु
भोक भोक लाग्ने पेटहरु
ताजा ताजा गफ गर्ने मुखहरु
पर्खिरहेको एक्लो दोकान भित्र बसेर
सम्पूर्ण प्रेमी जोडीलाई डाहालाग्ने गरि
देखिन्छ आकाशले खेत चुमिरहेको ।
यो प्रेमको उत्सवमा
सेता चराहरु हावाको स्टेजमा
गाना गाउँदै
पखेटाले मुन वक गर्दै
माईकलझैं नाचिरहेका ।
खेतको ब्रह्माण्डको बिचमा
त्यो एक्लो दोकान, जहाँ
चुलोमाथि उथलपुथल गरिरहेको
कालो तेलको समुद्रमा
मिलाएर काटिएको प्याजहरुले
डुब्की मार्छन्
अनि ब्यप्टाईज भए जस्तो गरि
प्याजी बनेर निस्किन्छन् ।
सेतो डेक्चीमा
दुध र पानीले पोखरी बनाउँछ
अनि पालै पालो
चिनी र चियापत्ती
हाम फाल्छन् ।
अनि मीठो बाफ छोड्दै
स्वादिष्ट चिया बनेर
सिसाको ग्लासमा
आराम गर्न ओर्लिन्छन् ।
पालै पालो आए
हाम्रो सामु ई दुई ।
चियाको चुस्की लिँदै
प्याजीलाई किच्दै दाँतले
शरीर दोकानमै बसेर
नयन खेतको कुना काप्चा पुग्ने प्रयास गर्छ ।
आकाशमा उड्ने प्रयास गर्छ ।
बाँदलको कर्भ्सहरु पछ्याउँछ ।
बाँस भट्टी भित्रको रहस्य
पत्ता लाउन खोज्छ ।
साना तिक्लीसँगै उड्छ ।
रुप्पीसँग बिजुलीका तार तारमा बस्छ ।
Read More From Nidesh Acharya:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com